Correspondent, ParbatNepal
7 years ago
2222
रोशन तिवारी फागुन १८ पर्वत । जन्मभूमीको विकास र समृद्धिका लागि यूएईमा भेला भएका पर्वतेलीहरुले विभिन्न निर्णय गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा पर्वत समाज यूएईले गरेको बृहत भेलाबाट ९ बुँदे निर्णय भएको छ ।
भेलाले जिल्लामा तीनवटा प्रसुती गृह निर्माण गर्ने निर्णय भएको छ । जलजला गाउँपालिकाको मिलनचोक, फलेवास नगरपालिकाको कार्किनेटा र पैयुँ गाउँपालिकाको हुवासमा प्रसुती गृह निर्माण गरिने भएको छ । प्रवासीहरुले प्रसुती गृह निर्माणका लागि सहयोग गर्ने भएका छन् । स्थानीय सरकार संग सहकार्य गरि १ वर्षभित्र तीन ठाउँमा प्रसुती गृह बनाईने भएको हो । प्रसुती गृह अत्याधुनिक सुविधायुक्त बनाउने तयारी भएको छ ।
भेला मार्फत हालै जलजला गाउँपालिकामा बाढि पहिरो पीडितका लागि निर्माणाधिन ३ वटा घरको पुननिर्माण चाँडै सक्ने बारेमा भेलाले निर्णय गरेको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाको विकासमा प्राथमिकता तोकेका योजनाहरु कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय भएको छ । पर्वत जिल्लामा कृषि र पर्यटनको प्रचुर संभावना रहेका कारण यसक्षेत्रमा प्रवासीहरुले लगानी गर्ने भएका छन् । स्थानीय सरकार, पर्वतका विभिन्न संघसंस्थासंग सहकार्य र समन्वय गरि सहयोग आदानप्रदान गर्ने भेलाले निर्णय गरेको छ । संसार भरि छरिएर रहेका पर्वते दाजुभाई दिदिबहिनीलाई एउटै संगठनमा आवद्ध गराउने र त्यसको नेतृत्व अन्तराष्ट्रिय पर्वत समाजले गर्ने भएको छ ।
मध्यपूर्वमा रहेका पर्वतबाट रोजगारीको शिलशिलामा पुगेकाहरुलाई भैपरि आउने समस्या समाधानका लागि ३ लाख रुपैयाँको अक्षयकोष बनाउने निर्णय भएको पर्वत समाज यूएईका अध्यक्ष पर्शुराम पौडेलले जानकारी दिनुभयो । १० अक्टुवर २०१९ मा केन्द्रिय अन्तराष्ट्रिय समाजको अधिबेशन गर्नका लागि विधान संसोधन समिति, निर्वाचन समिति, अधिबेशन गर्ने स्थान र व्यवस्थापक छनौट गरिएको छ ।
भेलाले मध्यपूर्वमा रहेका घरेलु कामदारलाई श्रम स्विकृति तथा अध्यागमन सहजीकरण गर्न नेपाल सरकार एवं सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय भएको छ । त्यस विषयमा अध्यययनका लागि ५ सदस्सिय उच्चस्तरिय समिति गठन गरिएको छ ।
