Correspondent, ParbatNepal
8 years ago
1681
पौष २२ पर्वत ।
दुई दशक देखि जिर्ण बनेको पोखरा–बागलुङ राजमार्गको मर्मत कार्य शुरु भएको छ । राजमार्ग कालोपत्रे भएयता आवधिक मर्मत हुन सकेको थिएन । क्षमताभन्दा बढी भार भएका गाडीको आवतजावत र लामो समयदेखि आवधिक मर्मत नहुँदा राजमार्ग जीर्ण बन्दै गएको थियो । बषौँदेखी जिर्ण अवस्थामा रहेको सडकको यसपाली टेण्डर मार्फत आवधिक मर्मत थालिएको हो । लामो समय सडक आवधिक मर्मत नहुँदा यात्रुहरुलाई निकै अप्ठेरो भएको थियो । सडकमा खाल्डैखाल्डा हुँदा राजमार्गमा गुड्ने सवारीसाधन सञ्चालनमा समेत जोखिम हुने गरेको चालक बताउँछन् ।
यात्रुहरुको समस्या र सवारी साधनको अवस्थालाई मध्येनजर गदै राजमार्गको मर्मत कार्य थालिएको हो । तिन बर्षमा राजमार्गको पुरै नयाँ संरचना निर्माण गरिने छ । राजमार्गको विस्तार र मर्मतको काम गत कात्तिकदेखी शुरु भएको छ । सडक विभाग अन्र्तगतको मध्यपहाडी आयोजनाले मर्मत सम्भारको जिम्मा लिएको छ । आयोजनाको पश्चिम खण्डका प्रमुख सुर्यबहादुर भाटका अनुसार पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म ६ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोश्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँपुलसम्मको करिब २५ किलोमिटरलाई तेश्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड ९२४ किमि० लाई अर्को खण्डमा बाँडेर मर्मतसम्भार र बिस्तार गर्न थालिएको छ
पोखराका जिरो किलोमिटरदेखि याम्दीसम्म ६ लेनको सडक तयार हुनेछ । त्यसपछि फेँदीसम्म पनि ६ लेनको सडक बन्नेछ । फेँदीदेखि घट्टेखोलासम्म ९ मिटर फराकिलो सडक बनाईने छ । अहिले पनि करिब ७ मिटर फराक सडक छ । अब बिस्तार गर्दा २ मिटर थपिएर कम्तिमा ९ मिटर फराकिलो बनाईने छ । सडकको ७ मिटर त कालोपत्रे हुनेछ । अन्य बाँकी खण्डमा नाला र फुटपाथ बन्नेछ ।
राजमार्ग बिस्तार र स्तरोन्नती गर्न करिब ३ अर्ब ३२ करोड रुपैयाँ लागत पर्नेछ । यो रकम सरकारले नै उपलब्ध गराउने छ । अहिले चारवटा निर्माण कम्पनिले काम गर्न थालेका छन् । आ–आफ्नो खण्ड छुट्याएर काम भईरहेका कारणले कतिपय ठाउँमा निर्माण नै सुरु भईसकेको छ । मर्मतसम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँपुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ ।
भाटका अनुसार नयाँपुलदेखि पर्वतको कुश्मासम्मको खण्ड सबैभन्दा अप्ठेरो छ । ठाउँठाउँमा पहरो भएकोले चट्टान फुटाउन पनि समस्या रहेकोले बिस्तारमा समय लाग्नसक्ने उनले बताए । उनले राजमार्गमा पर्ने पुल अझै साँघुरा भएकोले ती पुलको आकार बढाउने बारे पनि छलफल भएको बताए । पोखरा–बागलुङ राजमार्ग करिब तीनदशक अघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०÷५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यो सडक हिमालपारिको जिल्ला मुस्ताङ जोड््ने एकमात्र राजमार्ग पनि हो । उक्त मार्ग हुँदै धवलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने सवारी आवतजावत हुन्छन ।
