Correspondent, ParbatNepal
7 years ago
1551
रोशन तिवारी फागुन ४ पर्वत । मोदीबेनी स्थीत नृसिँह मन्दिरमा चोरी भएका शालिग्राम शिला सहित चोरहरु पक्रिन सफल भएकोमा पर्वतका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई सम्मान गरिएको छ ।
नृसिँह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकिय बिकास समितिले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीलाई दोसल्ला र प्रसंसापत्रले सम्मान गरेको हो । जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले ढकाल र तिवारीलाई सम्मान गर्नुभएको हो । कुश्मा स्थीत राममन्दिरमा आयोजित कार्यक्रममा सम्मान कार्यक्रम गरिएको थियो ।
धार्मिक अगुवा तथा संघसंस्थाका प्रमुखहरुको उपस्थितीमा भएको कार्यक्रममा बोल्दै जगतगुरु देवाचार्यले प्रहरीको उच्च प्रसंसा गर्नुभयो । प्रहरीले कुनै वास्ता नगरेको भए चोरी भएका शालिग्राम भेट्न असम्भव जस्तै भएको बताउनुभयो ।
उहाँले प्रहरी र प्रसासन कार्यालयले चासो दिएर शालीग्राम शिला फेला पारेको भन्दै यसको गुण सम्मानले मात्रै तिर्न नसकिने बताउनुभयो । कुनै पनि चिज आफु संग हुँदा कुनै वास्ता नहुने तर हराउँदा त्यो चिजको बढि महत्व हुने प्रसंग चलाउँदै देबाचार्यले शालिग्राम भेटिएपछि नृसिँह मन्दिर र मोदीबेनीको महत्व अझै मुखरित भएको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले शालिग्राम चोरी भएपछि ठुलो अनिष्ठ हुने अनुमान गरि प्रहरी युनिटलाई जुनसुकै हालतमा फेला पार्न निर्देशन दिएको बताउनुभयो । सम्मानप्रति उहाँले पर्वतबासीहरुलाई धन्याबाद दिनुभयो ।
डिएसपी तिवारीले सम्मानले आफुलाई अहिलेसम्म कहिल्यै नसोचेको सम्मान अहिले पाएको बताउनुभयो । खोज तलास, शान्ति सुरक्षा कायम गर्ने र नागरिकको जीउधनको सुरक्षा गर्नु प्रहरीको कर्तव्य भएपनि सम्मान प्राप्त गर्ने कहिल्यै नसोचिकन इमान्दार काम गरेको तिवारीले उल्लेख गर्नुभयो । कार्यक्रममा नृसिँह मन्दिर तथा धार्मिक पर्यटकिय विकास समितिका उपाध्यक्ष खुमराज पराजुली र निवर्तमान अध्यक्ष गोपालदास बैरागीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अध्यक्ष केशवदास बैरागीले गर्नुभएको थियो । फागुन ५ गते राती नृसिँह मन्दिरबाट चोरी भएका शालिग्राम शिला सहित प्रहरीले केहि दिन अगाडी चोरहरुलाई पक्रिएको थियो ।
