Correspondent, ParbatNepal
7 years ago
1654
फागुन ६ पर्वत । पर्वतका संघ तथा प्रदेश मातहतका कार्यालयले गर्दै आएका काम, वित्तिय खर्च, प्रगति र योजनाका बारेमा व्रिफिङ गरेका छन् । प्रमुख जिल्ला अधिकारीले डाँक्नुभएको सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी र पत्रकारहरुको बैठकमा कार्यालयहरुले आफ्ना कार्यालयका प्रगतिको बारेमा जानकारी गराएका हुन् ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले डाक्नुभएको छलफलमा भाग लिँदै कार्यालय प्रमुखहरुले पूजिँगत खर्च, योजनाको सम्झौता, सम्पन्न भएका योजनाको बारेमा जानकारी दिए । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कडेंलले कार्यालयको पूजीगत बजेट खर्चको अवस्था निराशाजनक रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले थालेको वैज्ञानीक वन कार्यक्रम , दिगो कृषि कार्यक्रम लगायतका कार्यक्रम कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । सिँचाइ तथा नदि नियन्त्रण इकाइ पर्वतका ईन्जिनियर बिदुरमान श्रेष्ठले पनि कार्यालयमा प्राविधिक कर्मचारीको अभावले योजना कार्यान्वयनमा समस्या भएको र उपभोक्ता समिति गठन गर्न नै समस्या हुँदा कतिपय योजना सम्झौता हुन नसकेको बताउनुभयो ।
मध्य पहाडी लोकमार्गका कार्यालय प्रमुख आशिष थापा मगरले मध्य पहाडी लोक मार्ग निमार्णको कार्य ४० प्रतिशत सकिएको बताउनुभयो । सडक निर्माणको भौतिक प्रगति तिव्र रुपमा भैरहेको थापाले दाबी गर्नुभयो ।
महभिरमा बाहेक अन्य ठाउँमा सहज रुपमा सडक विस्तारको काम भैरहेको थापाले बताउनुभयो । खानेपानी तथा सरसफाई डिभिजन इकाइ पर्वतका इन्जिनियर संगिता बरालले खानेपानी आयोजनाको निमार्ण गर्न हरेक वडाहरुमा समिति गठनमा विवाद हुदाँ कार्य प्रगति सन्तोषजनक नरहेको सुनाउनुभयो । कुस्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुवासकुमार लामिछानेले नगरपालिकामा रहेको कुल १९ वटा योजनामध्ये ९ वटा आयोजनाको स्टीमेट भएको बताउनुभयो । उहाँले नगरपालिकाले फोहोर व्यवस्थापनमा समस्या भएका कारण नयाँ ठाँउमा फोहोर फाल्ने ठाउँ निर्माण गर्न लागिएको बताउनुभयो ।
बजेट निकासा सहज नहुँदा समस्या भएको लामिछानेले बताउनुभयो । कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले कार्याक्षेत्र ठुलो र कर्मचारी थोरै हुँदा काम गर्न समस्या रहेको बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा शाखाका प्रमुख खिमबहादुर भुजेलले जिल्लामा यो वर्ष ३० वटा बिद्यालयको नयाँ भवन बन्न लागेको बताउनुभयो । बिद्यालय पुननिर्माणको क्रममा गुणस्तरीयतामा ध्यान दिएको भुजेलले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सजिना महर्जनले पनि पर्वतमा स्वास्थ्य कार्यालय प्रदेश मातहत गठन भएपनि वजेटको अख्तियारी नआएको बताउनुभयो । जिल्ला पूर्वाधार कार्यालयका प्रमुख दयाराम अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारी, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विष्णु न्यौपानेले पनि प्रगति विवरण सार्वजनिक गर्नुभयो । दोस्रो चौमासिक सकिने समयमा समेत कतिपय कार्यालयको पुंजीगत खर्च १० प्रतिशत समेत नदिएकाले नागरिक समाजका तर्फबाट पुंजीगत खर्च बढाउन, योजनाहरुको खर्च पारदर्शी बनाउन तथा गुणस्तरीय काम गर्न आग्रह पनि गरेका थिए ।
नियमित अनुगमन, सार्वजनिक महत्वका सुचनाहरुको सहज पहुँचको माग पनि गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिकहरुको आवश्यकता पुरा गर्न र विकासका काम तिव्र गतिमा गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले सरकारले लिएको लक्ष्य पुरा गर्न कार्यालयहरुले कुनै बाहना नवनाई काम गर्नुपर्नेमा जोड दिनुभयो । अहिले देखिएका समस्याहरु बिस्तारै समाधान हुँदै जाने उहाँले कर्मचारीहरुलाई सुझाव दिनुभयो ।
