Correspondent, ParbatNepal
7 years ago
2147
साजन परियार–-फलेवास_ । पर्वतको फलेवासमा राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कप प्रतियोगिता शुरु भएको छ । ‘खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मुल नाराका उक्त प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको शुक्रवार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्नुभएको छ । उद्घाटनका अवसरमा फलेवासका नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागितामा मार्च पास प्रस्तुत गरेका थिए भने विभिन्न संघ सस्थाले झाँकी प्रदर्शन गरेका थिए । कार्यक्रमको उद्घाटन गदैै गुरुङले गण्डकी प्रदेश सम्वृद्धिको यात्रामा अगडी बढेको बताउनु भएको छ ।
गण्डकी प्रदेशको मुख्य समृद्धिको आधार भनेको पर्यटन र विद्युत भएको बताउँदै सरकारले पर्यटन र विद्युतको क्षेत्रमा लगानी गरेको दावी गर्नुभयो । प्रदेशलाई आगमी ४ बर्षमा विद्युतमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउँदै मुख्य मन्त्री गुरुङले सोही अनुसार काम अगडी बढेको बताउनु भयो । साथै उहाँले एक पालिका एक खेलकुद मैदानको निर्माण कार्यलाई तत्कालन अगडी बढाईने समेत बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधी सभाका सदस्य पदम गिरीले निर्वाचनको बेलामा जनता माझ गरेका प्रतिवद्धता क्रमश पुरा गदै जाने बताउनु भयो । उहाँले खेल क्षेत्रको विकासका लागि आफुले सहयोग गर्ने बताउँदै आगमी योजनामा खेल क्षेत्रलाई प्राथमिकता दिने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभाका साँसद जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका संयोजक मनोहर वि. पौडेल, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपमेयर मन्जु अधिकारी र कार्यक्रमको संचालन योजना व्यवस्थापन अधिकृत देवीप्रसाद तिमिल्सीनाले गर्नुभएको थियो ।
आजवाट शुरु भएको प्रतियोगिता २९ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा विद्यालय र ११ वटै वडाका खेलाडीहरुकोे सहभागिता रहेको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा विद्यालय स्तरीय फुटबल, भलिबल, एथलेटिक्स,तेक्वान्दो लगाएका खेलहरु हुनेछन् ।
फलेवास क्षेत्रमा भएका खेलाडीहरुको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रवक्ता गौडेलले बताउनु भयो । प्रतियोगितामा पहिलो हुने लाई नगद ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
