Correspondent, ParbatNepal
7 years ago
1616
जेष्ठ १, पर्वत । पर्वतको कुश्माबजार स्थित गुप्तेश्वर गुफाको काखमा पहिलो ऐतिहाँसिक विराट गुप्तेश्वर महायज्ञ शिवपूराण, कोटीहोम तथा तुलादान महायज्ञ शुरु भएको छ । आज बाट ११ गतेसम्म सञ्चालन गर्ने गरि विधिवत रुपमा महायज्ञ शुरु भएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले महायज्ञको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै तिमिल्सीनाले पर्वत चिनाउने अभियानका साथ शुरु भएको महायज्ञ सफल बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले धर्मका नाममा हुने विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
एउटा धर्म मान्ने व्याक्तिले अर्को धर्म मान्ने व्याक्तिलाई असमान व्यवहार गर्न नहुने कुरामा सबै सचेत हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष तिमिल्सीनाले सबै नेपालीलाई धर्म मान्ने स्वातन्त्रता रहेको उल्लेख गर्दै धर्मका नाममा कुनै पनि द्धन्द आउन दिन नहुने बताउनुभयो ।
तिमिल्सीनाले नेपालमा अहिले सम्म धार्मिक सहिष्णुताको स्थीती रहेको प्रसंग निकाल्दै यसलाई जिवितै राख्नुपर्ने कुरामा जोड दिनुभयो । जिल्लाको गुप्तेश्वर गुफा र कालीगण्डकी नदीको धार्मिक महत्वलाई उजागर गर्न महायज्ञ सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा महायज्ञका प्रमुख संरक्षक तथा प्रमुख वाचक ईश्वरकृष्ण भुर्तेलले पर्वत धार्मिक आयमले भरिपूर्ण भएपनि आझेलमा परेको हुनाले आफुले अगुवाई गरेर महायज्ञ शुरु गरेको जानकारी दिनुभयो । उहाँले पुराणहरु र धार्मिक ग्रन्थमा पर्वत जिल्ला पार्वतीको जन्मथलो र गुप्तेश्वर गुफा शिव पार्वतीको क्रिडास्थल रहेको तथ्य रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधी सभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्साल, पूर्व साँसद ऋषिकेश तिवारी र कल्पना चापागाई , प्रदेश सभाका सदस्य ललितकला गुरुङ, जुनादेबी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेकपाका नेता भक्त कुँवर, नेपाली काँग्रेसका जिल्ला उपसभापति दुर्गाबहादुर खत्री, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रनिश गिरी, व्रहमकुमारी सुधा लगायतले बोल्नुभयो ।
कार्यक्रममा गुप्तेश्वर बेदबेदाङग पाठशालाका बटुकहरुले स्वस्तीबाचन गरेका थिए भने स्वागत मुल संयोजक पृथ्वीनारायण शर्मा र सञ्चालन महासचिव अच्यूत तिवारीले गर्नुभएको थियो । महायज्ञ शुरु हुनु अगाडी कुशमा बजारमा झाँकी, वाजागाजा, भजनर्कितन सहित कलशयात्रा गरिएको थियो । भोलीबाट कथावाचन, तुलादान र कोटीहोमका सबै कार्यक्रम शुरु हुँदैछन् ।
मुल संयोजक पृथ्वीनारायण शर्माले अहिले सम्म १४५ जनाले एक लाख रुपैयाँ सहयोग गरेर मुल समिति बनेको र ३ हजार बढिले तुलादानका लागि फारम भरेको जानकारी दिनुभयो । महायज्ञमा संकलित रकमबाट बिश्वकै अग्लो शिब पार्वतीको मुक्ति बनाउने, गुप्तेश्वर परिसरमा २०८ कोठाको धर्मशालासहित सत्सङ्ग आश्रम र भव्य सिसमहल निर्माण गर्ने मुख्य उद्देश्य समेत राखिएको छ ।
