Correspondent, ParbatNepal
6 years ago
3472
साजन परियार, पर्वत । गैरआवासीय नेपाली संघ -एनआरएनए_ को नवौं विश्व सम्मेलनको मिति नजिकिंदै छ । नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी दिन प्रतिदिन बढी रहेको छ । एनआरएनएको विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टोबर १३ देखी १६ सम्म काठमाडौँमा हुँदै छ । एनआरएनएको निर्वाचन नजिकिँदै गर्दा अहिले विभिन्न देशमा छरिएर रहेका प्रवासीहरुमा निर्वाचनमा कस्तो उम्मेदवारी पर्ला भनेर चर्चा बाक्लिन थालेको छ । एनआरएनए केन्द्रिय निर्वाचनमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी दिनेभनेपछि उनको उम्मेदवारीको निकै चर्चा हुन थालेको छ । आचार्यलाई विभिन्न देशमा रहेका प्रवासीहरुले अध्यक्ष पद नछाड्न दबाब दिइरहेका छन् । सक्षम, बौद्धिक एवम् सामाजिक व्यक्तित्वको रुपमा परिचित आचार्यको नाममा प्रवासीहरुले सार्वजनिक ठाउँमा भोट माग्न थालेका छन् ।
पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएका आचार्यको लोकप्रियता एनआरएनएका अन्य नेताको तुलनामा निकै माथि छ । एनआरएनएको निर्वाचनमा आचार्यले अत्यधिक मत ल्याउने अनुमान गरिएको छ । उनी एनआरएनए भित्र मात्र नभई संसारभरका प्रवासीहरुका प्रियपात्र हुन् । समाजसेवामा रुची राख्ने आचार्यको उम्मेदवारीलाई लिएर अहिले संसारभरि चर्चा र चासो बढेको छ । उनको उम्मेदवारी अध्यक्षमा परेमा सर्वसम्मत हुने संभावना रहेको एनआरएनए स्रोतले बताएको छ । ‘आचार्यले चुनाव जित्छन उनको तुलनामा अरु कोही आउन सक्दैन,’ एनआरएनएका एक नेताले भने, “उनको विकल्प छैन”।
सबै साथीभाइ र प्रवासीहरुको दबाब पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय अध्यक्षमा कुल आचार्यको उम्मेदवारी पक्कापक्की जस्तै भएको छ । आचार्य हाल गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका केन्द्रीय उपाध्यक्ष हुन् । अध्यक्षका लागि कुल आचार्यले अभियान तीव्र बनाएका छन् । अहिले उनी विभिन्न देशमा रहेका एनआरएनएका सदस्यहरुलाई भेट्न व्यस्त छन् । युरोप र अमेरिकामा निकै लोकप्रिय आचार्यले झण्डै दुई दर्जन मुलुकका एनआरएन सदस्यहरुको दबाबपछि अध्यक्षको उम्मेद्वारी दिने तयारी थालेका हुन् ।
आचार्यले देखाएको सक्रियता, क्रियाशिलता र सामाजिक भावनाबाट प्रभावित भएर अधिकांश मुलुकमा रहेका गैरआवासीय नेपालीले आचार्यलाई केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन दबाब दिएका हुन् । एनआरएनएमा जे काममा हात हाल्यो, त्यसैमा सफल नेताका रुपमा स्थापित आचार्य उपाध्यक्षमा समेत सबैखाले सिण्डिकेट तोडेर निर्वा्चित भएका थिए । उनी लण्डनका सफल व्यवसायी मानिन्छन् ।
प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघलाइ समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताएका छन् । एनआरएनएको विभिन्न पदमा बसेर काम गरेका आचार्य अध्यक्ष पदका बलियो उम्मेदवारका रुपमा चिनीन्छन् । एनआरएनए एनसीसी बेलायतका पूर्वअध्यक्ष तथा एनआरएनए युरोप संयोजकको जिम्मेवारी सम्हालिसकेका उपाध्यक्ष आचार्य अन्तर्रा्ष्ट्रिय पर्वत समाजका संरक्षक पनि हुन् ।
उनको उम्मेदवारीले पर्वतवासी दाजुभाइ तथा दिदीबहिनीहरु उत्साहित भएका छन् । जिल्लाको विकासमा चासो देखाउँदै आएका आचार्यको प्रचारप्रसारमा अहिले जिल्लावासी सक्रिय भएर लागेको देखिन्छ । सामाजिक सञ्जालमा अहिले आचार्यबारेका समाचारले महत्व पाउन थालेका छन् । विश्वभर छरिएर रहेका पर्वतेहरु पनि उनको उम्मेदवारीलाई लिएर उत्साहित भएको पाइन्छ । पर्वतेहरुले विभिन्न सञ्जाल मार्फत प्रचारप्रसार थालेका छन् ।
