Correspondent, ParbatNepal
6 years ago
1487
मंसिर १६, पर्वत । पर्वतमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै गएका छन् । मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न सक्ने व्यवस्था गरेपछि अदालतमा मुद्धा दिने बढेका हुन् । अदालतमा अघिल्लो वर्ष र चालु वर्षको चौमासिक अवधिमा २१६ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा १७१ र चालु वर्षको चार महिनामा ४५ वटा सम्बन्ध बिच्छेदका मुद्धा अदालतमा दर्ता भएका छन् । अदालतले गतवर्ष ११५ थान सम्बन्ध बिच्छेदका मुद्धा फस्र्यौट गरेको थियो ।
चालु वर्ष पनि गत वर्षबाट लगत सरि आएका ४० मुद्धा फस्र्यौट भएका छन् । गतवर्षका ५६ मुद्धा फैसला हुन बाँकि नै छन् भने यो वर्ष थपिएका ४५ गरि अदालतमा १०१ वटा मुद्धा फैसलाको क्रममा रहेको अदालतका श्रेस्तेदार जीवनकुमार पौडेलले जानकारी दिनुभयो ।
नयाँ मुलुकी ऐन जारी भएपछि पुरुषले पनि सम्बन्ध बिच्छेदको मुद्धा दिन पाउने व्यवस्था रहेका कारण सम्बन्ध बिच्छेद बढेको श्रेस्तेदार पौडेलले बताउनुभयो । बैदेशिक रोजगार, जोडीहरुका बिचमा बिमेल, परिपक्व नहुँदै बिहे गर्ने प्रचलनले सम्बन्धमा खटपट भएर अदालतमा सम्बन्ध बिच्छेद गर्ने बढेको पाईएको छ । सम्बन्ध बिच्छेद बढ्दै जाँदा पारिवारिक बिचलन बढ्न थालेको कानुन व्यवसायी बताउँछन् । सकेसम्म सम्बन्धमा समस्या नआउने कुरामा सचेत हुनुपर्ने आवश्यकता रहेको नेपाल बार एसोसिएसन पर्वतका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
सम्बन्ध बिच्छेद गर्ने जोडीका छोराछोरीहरुमा मानसिक समस्या देखिने, समाजमा सम्बन्ध बिच्छेद गर्नेलाई राम्रो नजरले नहेर्ने जस्ता समस्या पनि देखिन थालेको क्षेत्रीले बताउनुभयो ।
