Correspondent, ParbatNepal
6 years ago
1440
मंसिर १६ पर्वत । संघिय सरकारले पर्यटन भ्रमण वर्ष मनाउने तयारी गरेको र प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मनाईरहेको अवस्थामा पर्वतमा पर्यटक आकर्षित गर्ने नयाँ नयाँ गन्तव्यको खोजी र भएका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न शुरु भएको छ । स्थानीय सरकार संगै विभिन्न संघसंस्थाले पर्यटकिय क्षेत्रको उजागर गर्न थालेका हुन् ।
जिल्लाका गुप्तेश्वर, अल्पेश्वर, लालेश्वर, पार्वती गुफा, नेपालकै अग्ला लामा पुलहरु, महाशिला क्षेत्र, शालिग्राम क्षेत्र, पञ्चासे लेक, दुर्लुङकोट, डहरेको लेक लगायतका क्षेत्र पर्यटक आबर्षित गर्ने क्षेत्र हुन् । ति क्षेत्रमा पुग्ने सहज सडक बनाउन स्थानीय सरकारले कार्ययोजना बनाएर काम थालेका छन् । महाशिला गाउँपालिकाले महाशिला पूर्वाधार विकास गुरुयोजना बनाएर काम थालेको छ । कुश्मा नगरपालिकाले अग्ला पुल र गुफाहरु, मोदीबेनी लगायतका क्षेत्रमा पुग्ने सडक स्तरउन्नती गर्न थालेको छ ।
पर्यटकिय क्षेत्रको प्रचारप्रसारका लागि पर्चा, पम्पलेट, पोष्टर टाँस्ने काम शुरु भएको कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । चुवामा विष्णुबाटिका, खरेयामा शान्तिबाटीका बनाउने कार्यक्रम रहेको छ भने गतवर्ष गरिएको महायज्ञ पछि गुप्तेश्वर गुफा परिषरमा विश्वकै अग्लो शिव पार्वतीको मुर्ती बनाउने कार्यक्रम शुरु भएको छ ।
जलजला गाउँपालिकाले हम्पालमा पर्यटक बढाउन डाँडोको टुप्पोमा विशाल पोखरी बनाउने, केवुलकार चलाउने लगायतका योजना बनाएको छ । जलजला र मोदी गाउँपालिकाको संगममा रहेको हम्पालमा सडक पु¥याउने र अरु पूर्वाधार विकासको काम भैरहेको हो । मोदीको अग्लो स्थानमा रहेको भवरकोटमा पदमार्ग निर्माणको काम भैरहेको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो । पैयुँ र महाशिला गाउँपालिकाले चिसापानी लेक र पैयुँकोटको विकासका लागि डिपिआर निर्माणको काम गरिरहेका छन् ।
पोखरा आउने र मुस्ताङ जाने पर्यटकलाई पर्वतमा पनि भित्राउने गरि पूर्वाधार निर्माणको काम भैरहेको जिल्ला समन्वय समिति प्रमुख मनोहर वि. पौडेलले बताउनुभयो । कालीगण्डकी नदीमाथी विश्वकै नमूना बञ्जिजम्प निर्माण पछि धेरै पर्यटक पर्वतमा आउने अपेक्षामा रहेको पौडेलले बताउनुभयो । प्राकृतिक सम्पदा र मानव निर्मित पुल, केवुलकार र बञ्जिले पर्वतमा पर्यटकहरुको ध्यान तान्ने विश्वास लिईएको उहाँले बताउनुभयो ।
