Correspondent, ParbatNepal
6 years ago
1417
मंसिर १९, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सरकारले मनाउन लागेको पर्यटन वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा आज गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले पर्यटन वर्ष सफल बनाउन सरकार संगै नीजि क्षेत्र, धार्मिक तथा सांस्कृतिक समूह र सर्वसाधारणहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभएको हो ।
अध्यक्ष तिमिल्सीनाले नेपाल सरकारले आयोजना गरेको भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक भित्राउन र आफ्नो क्षेत्रमा रहेको पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा जुट्न आग्रह गर्नुभयो । उहाँले कालञ्जर,जलजला र गौशालालाई एकिकृत रुपमा विकास गर्न सके धार्मिक पर्यटन भित्राउन सकिने पनि कार्यक्रममा बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले जलजला क्षेत्र धार्मिक पर्यटनको प्रचुर संभावना भएको क्षेत्र भएकाले यसको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा गौमहोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । धार्मिक र स्वास्थ्यका हिसावले पनि गाईको महत्व भएकाले संरक्षण गर्नुपर्ने अधिकारीले बताउनुभयो । महोत्सव उद्घाटन कार्यक्रम हुनुभन्दा अगाडि मिलनचोक,बेनी,बागलुङ र कुस्मामा कलश यात्रा गरिएको थियो ।
भजनकृतन र बाजागाजा सहित हजारौं भक्तजनहरुको सहभागितामा मिलनचोकमा कलशयात्रा निकालिएको थियो । महोत्सव एक हप्तासम्म सञ्चालन हुने भएको छ । स्थानीय गाईको संरक्षणमा राज्यको ध्यान आकर्षित गर्न महोत्सव आयोजना गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा पर्वत जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल,जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, म्याग्दी र पर्वत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु लगायत ठूलो संख्यामा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले बताउनुभयो । गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । धार्मिक र प्रर्याबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउन र संरक्षणको लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले बताउनुभयो । स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा िव.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।
गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको छ ।
