Correspondent, ParbatNepal
6 years ago
1692
मंसिर २०, पर्वत । जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा छैटौ पर्वत महोत्सव हुने भएको छ । आगमी माघ ९ गतेदेखी १९ गतेसम्म हुने महोत्सवको विभिन्न तयारी थालिएको छ । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवका लागि अहिलेसम्म जिल्लाका सातवटै स्थानीय तह आयोजकको रुपमा रहेका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषण गरेको छ । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको नेपाल भ्रमण वर्षलाई निजी क्षेत्रबाट समेत सहयोग पुर्याउने उद्धेश्यले महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् । चार लाख दर्शक भित्राउने लक्ष्य राखिएको महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा लिईएको छ ।
महोत्सवका आकर्षण
महोत्सवमा कालीगण्डकी नदिमा ¥याफ्टीङ, हेलीकप्टरवाट पर्वतका पर्यटकीय स्थलहरुको दृश्यावलोकन, नेपालकै अग्ला र लामा तीन वटा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन, विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडिवुटी, अदुवा र लप्सीका परिकारहरुको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरुका फरक फरक साँस्कृति कार्यक्रम, गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरुको विक्रि तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सव आउन दुई महिना बाँकी रहँदा विभिन्न तयारीहरु थालिएको छ । अहिले मुख्य प्रायोजक र प्रायोजकको खोजी भैरहेको उद्योग बाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मुल संयोजक केदारनाथ शर्माले जानकारी दिए । उनका अनुसार मुख्य प्रायोजकका लागि १० लाख र प्रायोजकका लागि ७ लाख तोकिएको छ । महोत्सववाट भएको आम्दानीले व्यवस्थित महोत्सव स्थल निर्माण गर्ने, पर्यटन वर्षको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्ने, लघु तथा घरेलु उद्योगवाट उत्पादित सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने, उद्योग बाणिज्य संघको कल्याणकारी कोषलाई प्रभावकारी बनाउने लगायतका उद्धेश्य राखेको छ ।
