Correspondent, ParbatNepal
6 years ago
1370
फागुन २६, पर्वत । सरकारी कार्यालयबीच समन्वय हुन नसक्दा सडक विस्तारमा ढिलाई भएको छ । पर्वतमा करिब २ दर्जन सडक स्तरोन्नतिको चरणमा छन्न । सडक छेउमा रहेका विद्युतीय पोलका कारण सडक विस्तारमा ढिलाई भएको हो । सडक छेउछाउमा रहेका पोल सार्न विद्युत् प्राधिकरणले चासो नदिएको पाईएको छ । जिल्लामा सिंगल ट्र्याकका सडक विस्तार गरेर २ लेनको बनाउन लागिएको छ । तर, पोल नहटाउँदा कामले गति लिन सकेको छैन ।
कुश्मा नगरपालिकाले अस्पतालचोक–बन्जीजम्प–हाइवे र भित्री सडक विस्तार गरिरहेको छ । अस्पतालचोक सडकमै करिब २ दर्जन पोल सडकको बीच भागमा छन । भित्री बजारका सडकमा पनि त्यस्तै हालत छ । पोललाई समयमै व्यवस्थापन गर्नसके सडकको काम समयमै सकिने मात्रै नभई गुणस्तरीय समेत हुने भएकाले उपभोक्ता र निर्माण व्यवसायीले प्राधिकरणलाई आग्रह गरेका छन । तर, प्राधिकरणको पर्वत वितरण कार्यालयले काम अघि बढाएको छैन । ‘हामीले धेरैपटक विद्युतमा अनुरोध ग¥यौं,’ कुश्मा–५ का ताराबहादुर थापाले भने, ‘कहिले के कहिले के भनेर टारिएको छ ।
बाटो बन्दै गर्दा पोल सार्न पाए दुवै काम पक्का हुने थियो ।’ सडक बनिसकेपछि पोल सार्नुपर्दा आसपासका जग्गाधनीले पोल गाड्ने जग्गा नदिने, सडक भत्किनेलगायत समस्या हुने उनले बताए । ‘हामीले पनि धेरैपटक आग्रह गरेका छौं,’ कुश्मा–५ की वडाध्यक्ष चित्रकला शर्माले भनिन, ‘प्राधिकरणका कर्मचारी हेर्न पनि आएका छैनन ।’व्यवसायी भास्कर जोशीले पोल व्यवस्थापनमा सहयोगको आग्रहलाई प्राधिकरणले बेवास्ता गरेको गुनासो गरे । कालोपत्र सुरु हुने बेलासम्म पोल नसार्दा काम सक्न समस्या भएको उनले बताए । पोल नसारेकै कारण दुई साताअघि कुश्मा–५ कै गुम्बामा पोलमा टिपर ठोकिएको थियो ।
दुर्घटनामा चालक घाइते भएका थिए भने २ दिनसम्म विद्युत्
अवरोध भएको थियो । ‘प्राधिकरणले समयमै पोल सारेर
सहयोग गर्नुपर्छ,’ स्थानीय बलबहादुर पाठकले भने, ‘एकपटक सारिदिए कामछिटो
हुन्थ्यो ।’चालु वर्षमात्रै २ सयभन्दाबढी
पोल सार्नुपर्ने भए पनि प्राधिकरणले तदारुकता देखाएको छैन । प्राधिकरण
वितरण केन्द्र प्रमुख ललितनारायण चौधरीले एकैपटक सबै पोल सार्न सम्भव नभएको बताए । ‘पहिला नयाँ पोल तयार पारेर सिफ्ट गर्ने हो,’ उनले भने,
‘एकैसाथ सम्भव छैन । विस्तारै
गर्ने हो ।’ उनले पोल सार्ने बजेट प्राधिकरणसँग नभएकोले
सम्बन्धित निर्माण व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए ।
