Correspondent, ParbatNepal
6 years ago
1240
फागुन २६, पर्वत । चालू शैक्षिक सत्रको अन्तिम परीक्षा मंगलवारबाट सुरु हुनेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन जारी गरेअनुसार मंगलबारबाट परीक्षा सुरु हुँदैछ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को त्रासले गर्दा चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन भनेको हो ।
आधारभूत तह कक्षा ८ को परीक्षा पालिकाअन्तर्गत लिइनेछ भने अरु कक्षाको परीक्षा विद्यालयले आफ्नो अनुकुल लिनेछन्। त्यसलगत्तै चैत ६ गतेबाट १६ गतेसम्म माध्यमिक विद्यालय परीक्षा (एसईई) हुनेछ । एसईईमा ४ लाख ६६ हजार नियमित र १६ हजार ग्रेड वृद्धिसहित ४ लाख ८२ हजार परीक्षार्थी सहभागी हुने नियन्त्रक राजाराम खकुरेलले जनाएका छन्। त्यसनिम्ति १ हजार ९ सय ९४ परीक्षा केन्द्र विस्तार गरिएका छन् ।
मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याब्सन), नेसनल प्याब्सन, अभिभावक महासंघ, शिक्षक महासंघलगायत सरोकार पक्षसित छलफल गरी दिएको निर्देशन दिएको हो । उक्त निर्देशनलाई विद्यालयले सहज ढंगले कार्यान्वयन प्रक्रिया अघि बढाएको शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले बताए ।
शैक्षिक सत्रको तालिकाअनुसार विगतभन्दा एक साताअघि परीक्षा सञ्चालन हुँदैछ । ‘भोलि -मंगलबार_ देखि परीक्षा हुन्छ,’ प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले भने, ‘कोरोना भाइरस सम्बन्धी सचेतना र सतर्कता सम्बन्धी काम भइरहेको छ । परीक्षा सकिएलगत्तै काठमाडौं उपत्यकाबाट कम्तिमा दस लाख जनसंख्या गाउँघरतर्फ फर्किएलान् र जनजीवन सामान्य बन्ला ।’ चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन छ ।
देशभरी २९ हजार सामुदायिक र साढे ६ हजार जति निजी विद्यालय छन् । शिशु कक्षादेखि १२ कक्षासम्म ७५ लाख विद्यार्थी रहेका छन् । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ ।
