Correspondent, ParbatNepal
6 years ago
1288
फागुन २८, पर्वत । पर्वतमा दशक अघिदेखि मुक्तिनाथ नेपाली कागज उद्योग सञ्चालन गरेका मुक्तबहादुर क्षेत्रीले उत्पादन बन्द गरेको तीन वर्ष भयो । फलेवास–९ भंगराका क्षेत्रीले २० लाख लगानीमा कुस्मा–९ कटुवाचौपारीमा लोक्ता प्रशोधन गरेर कागज बनाउन थालेका थिए । सुरुका केही वर्ष उत्साहसाथ काम गरेका क्षेत्रीलाई लोक्ता संकलन, ढुवानी र कामदार अभावले समस्यामा पारेपछि उपकरण थन्क्याउनुको विकल्प भएन । ‘सुरुसुरुमा राम्रो भयो,’ उनले भने, ‘बिस्तारै लोक्ता पाउन मुश्किल भयो ।’ लोक्ता ढुवानीमा लाग्ने खर्च, वन कार्यालयको प्रक्रियालगायत झन्झटका कारण पनि उद्योग बन्द गर्नुपरेको उनले बताए ।
समुदायस्तरबाट जलजला–६ शालिजामा सञ्चालित हम्पाल सामुदायिक लोक्ता प्रशोधन केन्द्रले पनि यो वर्ष कागज उत्पादन गरेको छैन । व्यवस्थापक तुलबहादुर खोरजाका अनुसार कागज सुकाउने जमिन र भवन समस्याले उत्पादन रोकिएको हो । ‘बन्द भएको छैन,’ खोरजाले भने, ‘साउनयता उत्पादन छैन । लोक्ता थन्क्याएका छौं ।’ शालिजाकै हम्पाल र जुद्धवीर सामुदायिक वनमा लोक्ता उत्पादन हुन्छ । सामुदायिक वनमा आबद्ध महिलाले उद्योगमा काम गर्दै आएका थिए । कागजबाट खाम, डायरीलगायत सामान बनाएर बेच्दा आम्दानी बढेको थियो । कागजबाटै महिलाले लगाउने चुरापोते, टप, मालाजस्ता गहना बनाउन सकिने उद्यमी नरकुमारी चोचाङीले बताइन् । उद्योगमा ५० लाख लगानी पुगिसकेको छ ।
