Correspondent, ParbatNepal
8 years ago
2235
रोशन तिवारी माघ १ पर्वत - पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित पुर्कोटलाई पर्यटकिय गन्तव्य वनाउन स्थानीयवासी जुटेका छन् । वाईसे चौविसे भरौटे राजाहरुले राज्य गरेको कोट र जिल्लाकै उच्च स्थानमा रहेको क्षेत्र भएकाले यसको प्रचार गरि पर्यटक भित्राउन उनीहरु कसिएका हुन् । ऐतिहासिक स्थल भएर पनि प्रचार नहुँदा ओझेलमा परेको महसुस गरि प्रचार र संरक्षणमा लागेको स्थानीय धनवहादुर थापाले वताए । थापाको संयोजकत्वमा गठन भएको कोट संरक्षण तथा प्रचारप्रसार समितिले कोटको गुरुयोजना तयार पारि यसको प्रचार गर्ने काम थालेको जनाइएको छ । ‘पहिलो वर्ष यहाँ रहेको मौलो, ईनार, पोखरी, ओखल जस्ता दस्तावेजको अभिलेख तयार पार्ने, स्थानीय तहमा संरक्षण योजना पेश गर्ने, देशविदेशमा रहेका व्याक्तिहरु संग समन्वय गरि आर्थिक संकलन गरेर र प्रचार प्रसार गर्ने योजना अगाडी वढाएका छौँ,थापाले भने । उनले भने,‘जिल्लाका अन्य कोटहरु केहि दस्तावेज नभएर पनि प्रचारकै आधारमा चर्चित रहेका छन् त्यसैले हामीले अरु कोटहरु जस्तै हाम्रो कोट किन प्रचार नगर्ने भनेर कस्सिएका हौँ ।’
६५ वर्षिय स्थानीय अगुवा यज्ञवहादुर खत्रीका अनुसार पुर्कोटमा अहिले पनि पराम्परागत ओखल, पाटिपौवा, इनार र मौलो रहेको छ । भरौटे राजाहरुले राज्य गर्ने वेलामा प्रयोग गरेका घरेलु उपकरण, ओखल, ईनार जस्ता ऐतिहासिक प्रमाण अहिले हराउन थालेको खत्रीले वताए । ‘हामीले संरक्षण गर्न खोजेको हौँ सकेनौँ,’ खत्रीले भने,‘अवको पुस्ताले यसलाई प्रचार र संरक्षण गर्नुपर्छ ।’ ‘यहाँ अभिभावक बनेर कसैले चासो नदेखाउँदा अरु कोट प्रचारमा आए हाम्रो ओझेलमै परेको छ, उनले भने ।
वरिपरि दलित समुदायको वाक्लो वस्ती छ । दलित वस्तीमा रहेको कोट रहेका कारण यहाँको विकासमा आश्वसन मात्रै आएको तर काम हुन नसकेको स्थानीय दलवहादुर दर्जीले वताए । ‘यो गाउँमा भोट माग्न वाहेक ठुला मान्छे अरुवेला देखा पर्दैनन् तिनीहरुकै वेवास्ताले यो क्षेत्र पछि परेको हो,उनले भने ।
१५०० मिटर उचाईमा रहेको डाँडो रहेको यहाँवाट प्याराग्लाईडिङ उडाउन सकिन्छ, पदमार्गको रुपमा पनि प्रयोग गर्न सकिन्छ भने यहाँ भ्यूटावर वनाएर अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी हिमाल, पर्वतका आधा जति गाविस, सदरमुकाम कुश्मा, वागलुङको सदरमुकाम, म्याग्दीका गाउँहरु स्पष्ट देखिन सकिन्छ
सदरमुकाम कुश्मावाट २ घण्टाको पैदल यात्रा र सवारीवाट १ घण्टामा पुगिने पुर्कोटमा पोखरावाट कार्किनेटा हुँदै सडकमार्ग वाट पनि ३ घण्टामा पुग्न सकिन्छ । पञ्चासे र डहरेदेउरालीलाई समेटेर कुश्मावाट पदमार्गको रुपमा यो क्षेत्रलाई समेट्ने हो भने यो क्षेत्र उत्कष्ठ गन्तव्य वन्न सक्ने स्थानीय गंगावहादुर थापाले वताए । त्यसको लागि भने आफैँले पहल गर्नुपर्छ भनेर यूवाहरु सक्रिय वनेको थापाले वताए । कुश्मावजारमा नेपालकै अग्ला पुल वनेका छन् भने निकट भविष्यमा विश्वकै ठूलो वञ्जिजम्प निर्माण हुँदै छ । सदरमुकाम आउने पर्यटकलाई पदमार्गको समेत प्याकेज समाबेश गरेर पुर्कोट हुदै डहरेदेउराली र पञ्चासे हुँदै डिमुवा झर्ने योजना वनाउन जिल्ला स्थित पर्यटन विकास समितिलाई ध्यानाकर्षण गराएको थापाले वताए ।
तस्विर पुर्कोटका यज्ञवहादुर खत्री ओखल देखाउँदै । वाईसे चौविसे राजाहरुले प्रयोग गरेका ईनार, झाँक्रीको थान, पोखरी, सत्तल जस्ता दस्तावेज अहिले अलपत्र अवस्थामा रहेका छन् ।
