Correspondent, ParbatNepal
6 years ago
1364
चैत्र १, पर्वत । गाउँघरमा एउटाकोमा अत्तो पर्दा छिमेकीको
घरबाट सापटी ल्याएर गर्जो टार्ने पुरानो चलन अहिले हराउँदै गएको छ । अन्नपात वा यस्तै
सामानको बदलामा सामान नै फिर्ता दिने पुरानो चलनलाई आधुनिक र व्यावसायिक बनाउनकै
लागि बिहादीको एक गाउँमा पैंचो पसल सुरु भएको छ ।
स्थानीय ३० किसानको
संयुक्त प्रयासमा बिहीबारदेखि पैंचो पसल सञ्चालनमा ल्याइएको हो । अगुवा किसान रामप्रसाद
पराजुलीको अध्यक्षतामा गठित स्वयंसेवी कृषक समूहले पसल सञ्चालनमा ल्याएको हो । समूहमा व्यावसायिक
कृषिमा लागेका यादव गिरी, सूर्य पुरी, शिव थापा, मिनमायाँ क्षेत्री, सावित्रा पराजुली लगायत किसान सदस्य छन ।
पसलमा स्थानीयस्तरमा
उत्पादन हुने कृषि उपज किसानसँग लिएर बजारबाट आउने सामान फिर्ता दिइन्छ । त्यसबाहेक किसान आफूले
उत्पादन गरेको बाहेक अरु खाद्यान्न तथा तरकारी आवश्यक परेमा छिमेकीले उत्पादन
गरेको सामानसँग साटेर लिनसक्ने व्यवस्था छ ।
बिहादी–२ बर्राचौरस्थित पसलमा अहिले गाउँमा उत्पादित अदुवा, काउली, साग, बन्दा, आलु, धान, मकै, कोदो लगायतका तरकारी तथा खाद्यान्नको कारोबार सुरु
गरिएको अध्यक्ष रामप्रसाद पराजुलीले बताए । ‘पैंचो लेनदेन पुरानो संस्कार हो,’ उनले भने, ‘हामीले त्यसलाई अहिलेको परिवर्तित समाजसंग जोड्न मात्रै खोजेका हौं ।’ २ महिनाको तयारीपछि पसल सञ्चालनमा ल्याइएको हो । किसानले अभियानलाई
गाउँपालिकाभर विस्तारको योजना बनाएका छन् ।
‘एक वर्ष्भित्रै पालिकाभर र्पुयाउने योजनामा छौं,’ समूहका सदस्य एवं पसलका व्यवस्थापक मेकबहादुर
कुँवरले भने, ‘व्यवस्थित गर्नसके
यहाँ आबद्ध परिवार पसलबाटै आत्मनिर्भर हुन सकिन्छ ।’ समूहमा आबद्ध किसानले आफ्नै उत्पादन बिक्री गर्ने
योजना बनाएका छन् । अध्यक्ष पराजुलीका अनुसार अदुवा, साग, काउली, पिंडालु, बन्दा, लसुन, प्याज, आलु, अमृसो, मरिच, काँक्रो लगायतका लागि बिहादी उपयुक्त क्षेत्र हो ।
अम्रिसो, मरिच लगायतका बहुबर्से बालीमा आत्मनिर्भर हुनेगरी
उत्पादन सुरु गर्न थालिएको उनले बताए । ‘बेमौसमी लसुन, प्याज राम्रो हुन्छ,’ पराजुलीले भने, ‘यही सिजनमा मैले आठ–दश क्विन्टल उत्पादन गर्दै छु ।’ किसानले पैंचो पसलमा ल्याउने उत्पादनको सूचीअनुसार खेती सुरु गरिसकेका छन् । परिवारपिच्छे फरक
उत्पादन हुँदा एउटाले उत्पादन गरेको वस्तु सहजै अर्को परिवारले उपभोग गर्न पाउने
किसानहरूले बताए ।
त्यसबाहेक किसान आफूले
उत्पादन गरेको वस्तु गाउँमा बढी भए बजार पठाउने योजना छ । ‘यहाँबाट उत्पादन गरेको वस्तु बजार पठाएर त्यही
पैसाले उताको सामान ल्याउँछौं,’ समूहका सदस्य यादव गिरीले भने, ‘त्यसो गर्दा हामीलाई चाहिने बजारको सामान लिँदा पैसा
खर्च हुँदैन । आफ्नै सामानले साटेजस्तो हुन्छ ।’ पसलका लागि जम्मा बिक्रीको १० प्रतिशत मुनाफा लिने
नियम छ । सबैको एकमुष्ठ मुनाफा बोनसको रुपमा वर्षमा एकपटक वितरण
गर्ने समूहकोनिर्णय छ ।
किसानले उत्पादन गरेको हरेक सामानको छुट्टाछुट्टै खाता बनाएर सञ्चालनमा ल्याउन सुरु गरिएको छ । ‘सामानको विवरण र कारोबार अभिलेख गरी व्यक्तिगत खातामा दर्ता गर्नेछौं,’ अध्यक्ष पराजुलीले भने, ‘हाम्रो सानो प्रयासमा सबैले साथ दिए गाउँको कृषि उपजको बजारीकरणमा कोशेढुंगा हुनेछ ।’
