Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1300




कुश्मामा ‘अमृत जोशी’ चोक स्थापना
कुश्मामा ‘अमृत जोशी’ चोक स्थापना

पर्वत । पर्वत जिल्लाका राजनीतिक तथा सामाजिक क्षेत्रका नक्षेत्र स्वर्गीय अमृतप्रसाद जोशीको नाममा अमृतचोक स्थापना गरिएको छ । कुश्मा गाउँपालिका वडा नं ४ को साविकको पुरानो चौकी र राधाकृष्ण चोकलाई शनिबार एक कार्यक्रमका बीच अमृत चोक घोषणा गरिएको हो ।

 

अमृत जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उक्त चोकलाई अमृत चोक घोषणा गर्नुभएको हो । अमृतप्रसाद जोशीको योगदान र इतिहासलाई जीवित राख्न अमृत चोकको नामाकरण गरिएको नगर प्रमुख जोशीले जानकारी दिनुभयो । स्वर्गीय अमृतप्रसाद जोशीले आफ्नो बाबुले बनाएका तमसुक च्यातेर राजनीतिको शुरूवात गरेको जानकारी दिँदै नगरप्रमुख जोशीले अमृत जोशीजस्ता निष्ठावान र त्यागी पुरूषको परिचय भोलिको पुस्तालाई दिन पनि चोकलाई स्वर्गीय जोशीको नाममा नामाकरण गरिएको दाबी गर्नुभयो । उहाँले निकट भविष्यमै अमृत चोकमा अमृतप्रसादजोशीको शालिक निर्माण गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

 

कार्यक्रममा अमृतप्रसाद जोशीका सुपुत्र एवं नेपाली काँग्रेस पर्वतका युवा नेता युवराज जोशी, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चूडामणि शर्मा, जिल्ला सदस्य परशुराम पुरी, कुश्मा नगरपालिका वडा नं ४ का वडाअध्यक्ष मीना कर्माचार्य र वडा नं ५ का वडाअध्यक्ष चित्रकला शर्मा लगायतको सहभागिता रहेको थियो ।

 

अमृत जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव माधव पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष समाजसेवी मानकुमारी गिरीले गर्नुभएको थियो । अमृत चोकमा निकट भविष्यमै स्वर्गीय अमृतप्रसाद जोशीको शालिक निर्माण गरिने प्रतिष्ठानका सचिव माधव पौडेलले जानकारी दिनुभयो । पर्वत जिल्लामा सबैले सम्मानसाथ स्मरण गर्ने अमृतप्रसाद जोशीको २०६४ साल पुष २३ गते निधन भएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)