Correspondent, ParbatNepal
6 years ago
1202
फागुन ८ पर्वत । नेपाली काँग्रेसले विश्वभर फैलिइरहेको कोरोना भाइरस -कोभिड १९) बिरुद्धको पूर्वतयारी, रोकथाम, सचेतना र जिल्लाको शान्ति सुरक्षाको बिषयमा जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रबार छलफल गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा गएको पर्वत काँग्रेसको टोलीले पर्वतमा कोरोना भाइरसबिरुद्धमा गरिएका तयारीहरु, संक्रमण देखिएमा गर्ने प्रक्रिया, औषधीको अवस्था, समस्याहरु, सचेतनाका गतिविधि र पर्वतमा गर्नुपर्ने कामका बिषयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटा लगायतसंग छलफल गरेको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले सम्भव भएमा धौलागिरीको प्रवेशद्धारका रुपमा रहेको मोदीको डिमुवामा हेल्प डेक्स स्थापना गरी त्यहाँबाट भित्रिने यात्रुको तापक्रम नाप्ने ब्यवस्था मिलाउन सुझाब दिनुभयो । उहाँले विश्वभर फैलिइरहेको कोरोना भाइरस जुनसुकै बेला पनि नेपालमा भित्रिन सक्ने भएका कारण यसको रोकथाम, सचेतनाका लागि सबैको उत्तिकै दायित्व रहने र नेपाली काँग्रेसले गाउँस्तरसम्म सचेतना फैलाउन लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
संवादका क्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले कोरोना भाइरसबिरुद्ध कुनैपनि सहयोग चाहिएमा नेपाली काँग्रेस पर्वत तयार रहेको बताउनु भयो । उहाँले पर्वतका सबै वडासम्म काँग्रेसले सचेतना फैलाउन आग्रह गरेको भन्दै अहिलेको विश्व महामारीमा एकअर्कालाई सहयोग गर्नुपर्ने बताउनु भयो । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पर्वतमा भएका पूर्वतयारी, भएका गतिविधि र समस्याका बिषयमा जानकारी गराउनुभएको थियो ।
पर्वतमा भएको स्रोत र साधनलाई अधिकतम उपयोग गरेर पूर्वतयारीको काम गरेपनि सम्बन्धित निकायमा माग गरेर पठाएका सामाग्री भने पाउन नसकेको प्रजिअ घिमिरेले वताउनु भयो । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले कोरोना भाइरसको संक्रमण देखिएमा उपचार र अस्पतालले गर्नुपर्ने आवश्यक पूर्वतयारी भएको भन्दै संक्रमण देखिदासाथ मृत्यु नै नहुने भएकोले आतंकित नबनी सचेत हुन आग्रह गर्नुभयो ।
उहाँले अहिले बिषय गरी संक्रमित ब्यक्ति भेटिएमा उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पोशाकसहितको सामाग्री अभाव भएको र माग गरेपनि संघ, प्रदेशलगायतबाट प्राप्त नभएको जानकारी दिनुभयो । यसैबिच नेपाली काँग्रेस पर्वतले राजनीतिक आस्था र कोही कसैको दबाबमा विभेद नगर्न आग्रह गरेको छ । प्रहरी प्रशासनबाट कसैको उजुरी लिएर मुद्दा दर्ता गर्ने र कसैको उजुरी नलिने काम गर्न नहुने स्पष्ट पारेको छ ।
