Correspondent, ParbatNepal
6 years ago
1491
फागुन ८ पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं १, २ र ३ मा रहेको सुन्तला ब्लक क्षेत्रका कृषकहरुलाई बिहीबार एक कार्यक्रमका बीच ८ ओटा पावर टिलर वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषकहरुलाई ती मेशिनहरु उपलब्ध गराइएको हो । सोही अवसरमा सिचाइको लागि ७ हजार मिटर पाइप, स्प्रे मेशिन लगाइतका अन्य थप सामग्रीहरु समेत वितरण गरी सकिएको छ । झण्डै चार हजार तीन सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ब्लक क्षेत्रमा ६१ ह्जार सुन्तलाका बोटहरु र ६ हजार कागतीका बोटहरु रहेका छन् ।
कृषकहरुलाई आधुनिक कृषि यन्त्र तथा सामग्री वितरण कार्यक्रममा बोल्दै मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले अधिकांश नेपालीहरुको जीवनको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरणमा जोड दिंएर उत्पादन बृद्धि गरी उत्पादित कृषि उपजहरुको बजारीकरणको लागि समेत प्रयास भइरहेको जानकारी दिनुभयो ।
मोदी गाउँपालिकाका कृषि शाखा प्रमुख तुलसी राम शर्माले कृषिमा आधुनिकीकरण र यान्त्रीकरणमाको प्रयास भइरहेको बताउनु भयो । जबसम्म श्रमको सम्मान हुँदैन तबसम्म कृषिको विकास गर्न नसकिने उहाँको भनाइ थियो । सोही कार्यक्रममा बोल्दै वडा नं २ का वडाध्यक्ष विकास तिमिल्सिनाले देउपुरको जस्तो खेति र पाती भन्ने भनाइलाई व्यवहारमा चरितार्थ गर्ने प्रयास भइरहेको र आगामी बर्षलाई आर्थिक उन्नतिको वर्षको रुपमा अगाडि बढाउने योजना रहेको जानकारी दिनु भयो ।
उक्त कार्यक्रम पश्चात गाउँ पालिका अध्यक्ष र कृषि शाखा प्रमुख द्वारा देउपुर मा रहेको सुन्तला नर्सरीको समेत अवलोकन गरिएको थियो । जिल्लाको बाँसखर्क बाट दुई क्विन्टल सुन्तला ल्याएर नर्सरी ब्याड मा बीऊ हरु रोपिएको स्थानीय सुन्तला कृषक राम प्रसाद शर्माले जानकारी दिनुभयो ।
