Correspondent, ParbatNepal
6 years ago
1167
चैत्र २०, पर्वत । कोभिड–१९ को सम्भावित जोखिम रोक्न विदेश वा लामो यात्राबाट आएकाहरूलाई दुई साता छुट्टै राख्नलाई पर्वतमा बनाइएका क्वारेन्टाइन कक्षमा जम्मा ५ जना मात्रै क्वारेण्टाईनमा बसेका छन् । जिल्ला प्रशासन र स्थानीय तहका अनुसार चैत पहिलो सातायता कोभिड–१९ ले संक्रमित देशहरूबाट मात्रै फर्किएकाहरूको संख्या साढे दुई सयभन्दा बढी छ । अन्य जिल्लाबाट आउनेहरूको संख्या यकिन छैन । जोखिमयुक्त मुलुक र लामो यात्राबाट गाउँ आएकालाई अलग्गै राख्न सबैजसो स्थानीय तहले क्वारेन्टाइन कक्ष बनाएका हुन् । जिल्लामा हालसम्म ३ सय ५४ शैयाका क्वारेन्टाइन बनिसकेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीका अनुसार कुश्मा नगरपालिकाले सबैभन्दा पहिला १५ शैयाको आईसोलेसन बनाईएको थियो भने पछि ५० जना अट्ने क्वारेन्टाइन निर्माण गरेको थियो । फलेबास नगरपालिकाले सबैभन्दा धेरै दुई सय १२ शैयाको क्वारेन्टाइन बनाएको छ । जलजलामा २८, मोदी र महाशिलामा छ–छ, पैयुँमा १८ र बिहादीमा ६० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । स्थानीय सरकारहरुले बिदेशबाट फर्किएका र कोरोना आशंका गरिएका सबैलाई क्वारेण्टाउन राख्ने भनिएको थियो । तर, जिल्लाभर क्वारेण्टाईनमा बस्नेको संख्या ५ छ । फलेवासमा ३ र विहादीमा २ जना क्वारेण्टाईनमा छन् । क्वारेन्टाइनमा बसेपछि मिडियामा समाचार आउँछ भनेर कोही नमानेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । रोग संग भन्दा पनि मानिसहरुलाई क्वारेण्टाईनमा बस्दा सामाजिक ईज्यत गुम्ने चिन्ता छ ।
कुश्मा नगरपालिकामा बढी संक्रमण भएका देशहरूबाट फर्किएकाहरूको संख्या ३६ छ । फलेबासमा ६७ जना संक्रमण बढी फैलिएको देशबाट फर्किएका छन् । नगरप्रमुख पदमपाणी शर्माले फलेवासमा बिदेशबाट फर्किएकाहरुलाई होम क्वारेण्टाईनमा राखिएको जानकारी दिनुभयो । तर, सबै वडामा अहिले पनि धमाधम क्वारेण्टाईन बनिरहेका छन् । महाशिलाका प्रशासकीय अधिकृत बुद्धिराम शर्माले क्वारेन्टाइनको अवधारणा ढिला गरी आएकाले कसैलाई राख्न नसकिएको बताउनुभयो । सरकारले क्वारेन्टाइन सञ्चालनको मापदण्ड सहितको निर्देशिका जारी गरेपछि कतिपय स्थानीय तहमा मापदण्डविपरीत भएको भन्दै स्थगन गर्न प्रशासनले निर्देशन दिएको छ ।
अनुगमनका क्रममा जलजलाका ६ वटा स्वास्थ्य चौकीमा बनेका १२ शैयाको क्वारेन्टाइन कक्षको मापदण्ड नपुगेको भन्दै स्थगन गरिएको छ ।
