Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1863




कुश्माको आर्थिक कारोवारमा मन्दि
कुश्माको आर्थिक कारोवारमा मन्दि


रोशन तिवारी माघ ३ पर्वत -

कुश्माका सन्तोष जोशीले जिल्ला प्रसासन कार्यालय अगाडी चल्तिमा रहेको स्टेशनरी पसल अघिल्लो हप्ता विक्री गरे । उनले पोखरामा नयाँ व्यवसाय शुरु गर्दैछन् । जोशी जस्तै जिल्ला समन्वय समितिको गेटमै रहेका आलोक श्रेष्ठले पनि फोटो स्टुडियो र सरकारी कारोवार सम्वन्धि कागजपत्र तयार पार्ने व्यवसाय छोडेर अहिले रिसोर्ट सञ्चालन गरेका छन् । स्थानीय तहको पुनसंरचना पछि जिल्लाका सरकारी कार्यालय गाउँ केन्द्रित भएपछि जिल्लाको व्यापार व्यवसाय सुस्ताएपछि यूवा व्यवसायीहरु वैकल्पिक पेशा रोज्न थालेका छन् । सञ्चालनमा रहेका व्यवसायहरु पनि सेवाग्राही नआउँदा समस्यामा परेका छन् । ‘पहिले जस्तो व्यापार हुनै छाड्यो कार्यालयहरु गाउँ तिर सरेपछि गर्दै आएको व्यवसाय चल्न छाड्यो समय स्टेशनरी विक्री गरेका सन्तोष जोशीले भने,‘ त्यसैले पोखरा तिर गएर फरक व्यवसाय शुरु गर्ने सोचमा पसल विक्री गरेको हुँ । ’ उनले दुर्लुङका सुजन पोखरेललाई हालै पाँच लाखमा स्टेशनरी पसल विक्री गरेका हुन् । यि केहि पछिल्लो उदाहरण मात्रै हुन् । साना व्यवसायी देखि ठूला व्यवासायीहरु पनि व्यवसाय छोडेर विकल्पमा लागेका छन् । 


स्थानीय तहको पुनसंरचना भन्दा अगाडी गाविस सचिवहरु सदरमुकाममै वस्ने गरेका थिए । दैनिक रुपमा सेवा लिन आउने सेवाग्राहीहरुले यहाँको कारोवार धानिएको थियो । अहिले सरकारी सेवा गाउँ फर्किएको छ । यसले सदरमुकाममा सेवा लिने आउन छाडेका छन् । 

 

पर्वतका ५५ गाविसलाई समेटेर दुई नगरपालिका र ५ गाउँपालिका कार्यान्वयनमा आएपछि जिल्लाभरको आर्थिक केन्द्रका रुपमा रहेको सदरमुकाम कुश्माको आर्थिक गतिविधि संकटमा पर्न थालेको हो । सदरमुकामदेखि उत्तर, दक्षिण, दक्षिणपुर्व तथा पश्चिममा छुट्टाछुट्टै केन्द्र कार्यान्वयनमा आएपछि सदरमुकामका बित्तिय संस्था, होटल व्यवसायीसंगै यातायात व्यवसायीका कारोबारमा समेत मन्दी देखिन थालिसकेको छ । 


दक्षिणका १६ गाविसबासीहरु ससानो कामका लागि पनि दिनभरको यात्रा गरेर सदरमुकाम आउन बाध्य थिए । घरकै छेउमा गाउँपालिका र नगरपालिकाको केन्द्र वनेपछि स्थानीय नागरिकहरुलाई सेवा लिन सहज भएको छ । तर कुश्माको व्यवसायमा भने पुनसंरचनाले नकारात्मक असर गरेको छ । सदरमुकामका होलसेल तथा खुद्रा व्यवसायी समेत चिन्तामा छन् । ‘अब ग्रामीण क्षेत्रमा माल पठाउन हराउने भयो,’ डेढ दशकदेखि दैनिक उपभोग्य सामानको होलसेल कारोबार गर्दै आएका लोकनाथ अधिकारीले भने, ‘सम्पर्कै टुट्ने भएपछि कारोबार कसरी हुन्छ ?’ ससाना व्यवसायी पनि सदरमुकामसितको सम्पर्कबाट टुटेपछि व्यवसायी तनावमा छन् । नयाँ संरचना कार्यान्वयन भएसंगै सदरमुकामको सम्पुर्ण व्यवसाय अब साबिकका दश गाविसमा मात्रै केन्द्रित छ ।


उत्तरतर्फ बनेका दुई गाउँपालिका पोखरा–बाग्लुङ राजमार्गसंग जोडिएका छन् । मोदी र जललला गाउँपालिका क्षेत्रका सर्वसाधारण दैनिक उपभोग्य सामानको बिनिमयका लागि बेनी, बाग्लुङ पोखरा सिधै जान सक्छन् । ठुला व्यवसायीहरु पनि सदरमुकामको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

त्यस्तै दक्षिणतर्फका महाशिला, पैयुँ र बिहादी गाउँपालिकाबासीहरु पनि सदरमुकाम भन्दा छिटो बुटवल पुग्न सक्छन् । पुर्व र दक्षिणका २९ गाविसबासीलाई किनमेल र दैनिक उपभोग्य सामानका लागि सदमुकाम भन्दा नजिक स्याङ्जा र कास्कीका बजार पर्छन् । ससानो कामकाज लिएर सदरमुकाम आउनेहरु केहि दिन बस्नुपर्दा सदरमुकामका होटल बित्तिय संस्था र व्यवसायीसंग कारोबार गर्दथे । ‘अब सदरमुकाम जानैपर्ने बाध्यता हुँदैन ।’ हुवासका प्रदीप प्रधानले भने । कामकाजका लागि सदमुकाम आउजाउ गर्ने स्थानीयले ग्रामिण सडकमा चल्ने सवारीमा पनि यात्रीको चाप हुन्थ्यो । ‘सदरमुकामका सुविधा गाउँमै पाइने भएपछि गाडीमा चाप त्यसै घट्छ,’ जिपचालक लोकेश खत्रीले भने, ‘अब गाउँमा चल्ने जीप थन्क्याए हुन्छ ।’

पछिल्लो समय सदरमुकाम केन्द्रित भएर खुलेका दर्जनौं बित्तिय संस्थाहरुले पनि अब गाउँ केन्द्रित लगानीको विकल्प नभएको बताएका छन् । ‘सदरमुकाममा मात्रै बिजनेश छ भन्ने कन्सेप्ट अब काम लाग्दैन,’ एनआइसी एसिया बैंकको कुश्मा शाखाका प्रबन्धक बिजय चापागाईंले भने, ‘गाउँपालिलाई केन्द्रित गरेर कारोबार बिस्तार गर्नुको विकल्प छैन ।’ एनआइसी एसियाले नयाँपुलमा मोदी गाउँपालिका केन्द्रित शाखा बिस्तार गर्न लागेको उनले बताए । यसअघि सदरमुकामका घरजग्गालाई मात्रै धितो मानेर लगानी गर्दै आएका बैंकहरुले आफ्नो आर्थिक रणनीति बदलेर ग्रामिण क्षेत्रको धितोमा पनि लगानी गर्न थालेका छन् । सदरमुकामकै केन्द्रित भएका करिव पाँच दर्जनबढी बित्तिय सहकारीहरुले नगरपालिका र गाउँपालिकालाई केन्द्रमा राखेर कार्यालय स्थानान्तरण गर्ने तयारीमा छन् । ‘अब हरेक गाउँपालिकालाई आर्थिक केन्द्र बनाए उतै कारोबार बिस्तार गर्नुपर्छ ।’ एक सहकारीका अध्यक्षले भने । पर्वतमा दक्षिणका हुवास, फलेबास, कार्कीनेटा, लुङ्खु, रानीपानी, उत्तरका माझफाँट र पातीचौर आर्थिक केन्द्र हुन् । आजको आर्थिक् अभियानमा रोशन तिवारीको वाईलाइनमा समाचार प्रकाशित भएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)