Correspondent, ParbatNepal
6 years ago
1361
चैत्र २१, पर्वत । लडाउनका कारण समस्या भोग्दै आएका कुश्मा नगरपालिका–८ चुवाका मनकाजी परियार शुक्रवार राहात पाएपछि निकै खुशी भए । काँधमा चामलको बोरा बोक्दै उनले भने ‘हामी गरिवलाई पनि सहयोग गर्ने मान्छे हुँदा रैछन् ।’ ‘लकडाउन भएपछि के खाने भन्ने चिन्ता थियो, काम पाउनै छोड्यो, म त भोकै मरिन्छ कि जस्तो लागेको थियो,’ उनले भने । ससुराली गाउँमा बस्दै आएका परियारको ६ जनाको परिवार छ । दैनिक ज्याला मजदुर गदै आएका परियार चामल पाएपछि केही दिन राहात हुनेमा ढुक्क छन् । चामल सँगै उनले हप्ता दश दिन पुग्ने नुन, तेल, दाल लगायतका खाद्यान्न पाएका छन् । उनी सँगै मनवहादुर दमैको अनुहारमा पनि खुशी देखिन्थो । दैनिक ज्याला मजदुर गरेर परिवार पाल्दै आएका दमैलाई लकडाउन भएसँगै के खाने भन्ने चिन्ता थियो । तर, यहाँका एक युवाले त्यो चिन्ता मेटाईदिएका छन् ।
कुश्मा नगरपालिका–८ का समाजसेवी ठाकुर पोखरेलले चुवाका अति विपन्न तथा गरिव ४ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि मुलक लकडाउन भएसँगै दैनिक हातमुख जोर्नै समस्या भएका विपन्न, गरिव तथा दलित परिवारहरुको विचल्ली देखेपछि उनीहरुलाई घरमा बोलाएर खाद्यान्न वितरण गरिएको हो ।
घरमा आएका ४ जना श्रमिकलाई आमा मैनाकुमारी पोखरेलको हातवाट सामग्री वितरण गरेको उनले बताए । उनले एक बोरा चामल सहित दाल, चिनी, आलु, प्याज, नुन र तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेको बताए । ‘मुलुक लकडाउन भएसँगै विपन्न गरिव नागरिकको दुःख देख्न नसकेर राहात वितरण गरेको हुँ,’ठाकुरले भने । लकडाउनका कारण ज्याला मजदुरी गरेर खाने परिवारलाई निकै सास्ती भएको बताउँदै सवैले आफ्नो क्षेत्रवाट सहयोग गर्नुपर्ने उनको तर्क छ । ठाकुरले यस अघिपनि विभिन्न क्षेत्रमा सहयोग गदै आएका छन् ।
