Correspondent, ParbatNepal
8 years ago
2083
गणेश पौडेल
पर्वत । कालीगण्डकी नदीको बीच भागमा दिनभर स्काभेटर र डोजरले बालुवा उत्खनन् गरिरहेको देखेर छक्क नपर्नुहोला । जिल्ला समन्वय समितिले अबैध उत्खनन् गर्न अनुमती दिएसँगै स्थानीय व्यावसायिहरुले खोलामै डोजर लगाएर धमाधम बालुवा उत्खनन् गरिरहेका छन् ।
पोखरा–बाग्लुङ्ग राजमार्गको सहश्रधारा र मालढुंगा – बेनी सडक खण्डको लस्तीबाट प्रष्ट देखिने गरि धमाधम ठूला–ठूला स्काभेटरले नदीको बीच भागमा बालुवा उत्खनन् गरिरहेका छन् । विश्वमै शालिग्राम शिला पाईने एकमात्र कालीगण्डकी नदीमा क्रसर उद्योगीहरुले अबैध रुपमा नदीको दोहन गर्न जिल्ला समन्वय समितिले ईजाजत दिएसँगै पुनः सक्रिय भएर काम गरिरहेका छन् ।
केही वर्ष पहिला जिल्ला प्रहरी कार्यालयका प्रमुखको सक्रियतासँगै दोहन कार्य सुस्त बनेको भएपनि पछिल्लो समय स्थानीय प्रहरी र प्रशासन मौन बसेपछि व्यावसायिहरुको मनोमानी बढेको छ । यता जिल्ला समन्वय समिति र व्यावसायिको मिलेमतोमा निर्माण सामाग्री अभाव भएको बाहनामा दिनदाहाडै तस्करी गर्न अनुमति दिनुले तस्करहरुसँगको मिलोमतो भएको भन्दै स्थानीयवासीहरु समेत आश्चर्यमा परेका छन् ।
प्राकृतिक साधन स्रोत जोगाउने जिम्मा लिएको जिल्ला प्रशासन, प्रहरी र जिल्ला समन्वय समिति समेतकै मिलेमतोमा दोहनका लागि ईजाजत दिएपछि स्थानीहरुले समेत आशंका गर्न थालेका हुन् । स्थानीय प्रकाश पौडेलका अनुसार व्यावसायिहरुले खोलाको बीच भागमा रहेको बालुवा तस्कर गर्नका लागि वैकल्पिक बाटो बनाएर, ह्युम पाईप राखेर स्काभोटर र डोजरले दिनभर काम गरिरहेका छन् ।
स्काभेटर लगाएर ढुंगा, गिटी बालुवाको अबैध उत्खनन् हुन थालेपछि नदी किनाराका बस्ती र जलचरहरु समेत संकटमा पर्ने भएपनि वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै जिल्ला समन्वय समितिले काम गर्न दिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि. पौडेलका अनुसार ठूला साधन प्रयोग नगर्ने गरि सामान उठाउन ईजाजत दिएको भएपनि व्यावसायिहरुले मनोमानी गरेको बताउनुभयो ।
जिल्ला समन्वय समितिले भने क्रसर व्यावसायिहरुसँगको मिलेमतोमा कालीगण्डकीको पर्वत खण्डलाई समेत म्याग्दी र बाग्लुङ्ग खण्ड भन्दै उत्खनन्का लागि वाटो प्रयोग गर्न दिएको बताएको छ । लस्ती स्थित कालीगण्डकी नदी पारी म्याग्दीमा पर्ने सारेमारे बगर भएपनि पर्वत खण्डमा रहेको कालीगण्डकीको बीचको भागलाई नै म्याग्दी भनेर बताउने गरेको छ भने, सहश्रधाराको पर्वत खण्डमा रहेको बगरलाई बाग्लुङ्ग भएको बताउँदै अर्को जिल्लाको घाटबाट सामान ल्याउन दिएको बताएको छ । तर दुबै बगर पर्वतकै भएको भन्दै जिल्ला समन्वय समितिले कर लगाउँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले भने आँफूलाई खोलामा स्काभेटर लगाउने विषयमा कुनै जानकारी नभएको बताउनुभयो । जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका पन्थीले खोलामा डोजर र स्काभेटर लगाउने कार्य नियम विपरित भएको बताउँदै कानून विपरित गरेको पाएमा प्रहरी लगाएर नियन्त्रण गर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बि. पौडेलका अनुसार दुबै बगर पर्वतका नभएकाले अन्य जिल्लाको सामान ल्याउन बाटो दिने निर्णय मात्र भएको बताउनुभयो । सोही निर्णयका आधारमा नाग्लीवाङको लस्तीमा रहेको ओम श्री दक्षिणाम्काली क्रसर उद्योग र सहस्रधारामा रहेको कालीगण्डकी क्रसर उद्योगले खोलाको बीच भागमा गएर स्काभेटरले खनिरहेका छन् ।

यता क्रसर संचालकहरुले भने सरकारको गलत निर्णयले व्यावसाय गर्न असहज भएको बताउँदै निर्माण सामाग्रीहरु सहज ढंगले दिन नसकेको बताउँछन् । ओम श्री दक्षिणामकाली क्रसर उद्योगका प्रोपाईटर बिप्लब हमालका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कनमा भएका प्रावधान पुरा गर्न नसकिने र अव्यावहारिक भएको बताउनुभयो ।
वातावरण संरक्षण नियमावली २०५४ र मन्त्रीस्तरिय निर्णय २०७१/०१/०२ गतेको निर्णय अनुसार खोलामा खोलाजन्य सामाग्री निकाल्दा ठूला साधन प्रयोग गर्न नमिल्ने बताएको भएपनि सबै नियमको धज्जी उडाउँदै जिलल समन्वय समितिले खोलामै स्काभेटर लगाउन दिनु आपत्तीजनक भएको सरोकारवालाहरु बताउँछन् । जिल्लाका नियमनकारी निकायले खोलाको जलाधार क्षेत्रबाटै जथाभावी निर्माण सामग्री निकाल्ने कार्य भइरहेको जानकारी पाउँदा पनि रोक्न चासो नदेखाएको स्थानीय प्रकाश पौडेलले बताउनुभयो ।
