Correspondent, ParbatNepal
6 years ago
1504
चैत्र २८, पर्वत । विश्वव्यापी
महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमणको जोखिम न्यूनिकरणका लागि
नयाँ वर्ष २०७७ को अवसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्न र मेला लगाउन रोक
लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले
बिहीवार एक सूचना जारी गर्दै कालीगण्डकीमा मेला लगाउन रोक लगाएको हो । नववर्षको
अवसरमा गरिने कुनै पनि धार्मिक मेला, पुजा आजा सांस्कृतिक जमघट नगर्न प्रशासनले अनुरोध गरेको छ ।
मुलुक तीन साता लामो लकडाउनमा रहेका
बेला यस्ता खाले मेला र पुजा आजाले एक अर्काबीच संक्रमण फैलिन सक्ने जोखिम भएकाले
घरमै बसेर सहयोग गर्न पनि आग्रह गरिएको छ ।
पछिल्ला केहि दिन यता अन्तर जिल्ला र
अन्तर पालिका तथा कतिपय ठाउँमा अन्तरवडा समेत आवजावातमा कडाई भएको बेला परम्परागत
रुपमा मनाउँदै आएको कालीगण्डकी स्नान तथा जमघटले सामाजिक दुरी समेत कायम नहुने र
अन्य जोखिमहरु समेत निम्तिले भएकाले सचेत हुन भनिएको हो ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरेले
सूचना जारी गर्दै यो स्वयंम आफैका लागि खतरा भएकाले सरकारले आव्हान गरेको
लकडाउनलाई पालना गर्दै कालीगण्डकी लगायत मठ मन्दिरमा नजान आग्रह गर्नुभएको छ ।
नव वर्षको वैशाख संक्रान्तिको अवसरमा पवित्र कालीगण्डकीको तटमा पर्ने मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुल, सहस्रधारा, वारिवेनी, मिलनचोक लगायतका स्थानमा स्नान गर्नेहरुको भिड लाग्ने गर्दछ । प्रशिद्ध मोदीवेणी र विश्वकै ठुलो शालिग्राम शिला रहेको सेतीवेणीमा ठुलो मेला लाग्ने प्रचलन समेत रहेको छ ।
