Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2491




जलजलामा दुई गाउँका युवा बीच झडप (भिडियो सहित)
जलजलामा दुई गाउँका युवा बीच झडप (भिडियो सहित)

चैत २९ पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा दुई गाउँका युवाहरु बीच झडप भएको छ । धाइरिङको लालुङ गाउँ र जलजला गाउँपालिका ८ नाग्लिवाङको लस्ती गाउँका युवा बीच शनिबार दिउँसो भएका झडपमा दुवै पक्षका ५ जना भन्दा बढी घाइते भएका छन् ।

धाइरिङमा निर्माणाधिन सिंचाई आयोजनामा शुक्रबार निर्माण सामग्री लिएर जाँदै गरेको ट्याक्टरका चालक र सहचालकलाई गाउँलेहरुले हातपात गरेको आरोपमा लस्तीका युवाहरु लालुङ गाउँमा नै पुगेर शनिबार प्रतिकारमा उत्रिएका हुन् । लकडाउनको समयमा ट्याक्टर सहित गाउँमा प्रबेश गरेको भन्दै शुक्रबार धाइरिङमा ट्याक्टरका चालक गणेश परियार र सहचालक प्रेम नेपालीलाई लालुङका युवाहरुले कुटपिट गरी घाइते बनाएका थिए ।


सोही घटनाको प्रतिशोध साँधेर लस्तीबाट ३० जनाको समुहमा पुगेका युवाहरुले लुलाङ गाउँबासीलाई शनिबार कुटपिट गरेका हुन् । कुटपिटबाट लालुङका कुमार विक र ८० बर्षिय दुर्गाबहादुर विक घाइते भएका छन् । घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । झडपका लागि लस्तीबाट लालुङ पुगेका युवाहरु पनि घाइते भएको प्रहरीले जनाएको छ ।


जलजला गाउँपालिकाको मिलनचोकबाट झडप नियन्त्रणका लागि प्रहरी घटनास्थलमा पुग्दा प्रतिकारमा उत्रिएका युवाहरु फरार भइसकेको र गाउँलेहरुले उल्टै प्रहरी माथि जाइलागेको मिलनचोक प्रहरी पोष्टका प्रहरी सहायक निरिक्षक ध्रुब बोहोराले बताए । घरेलु हतियार सहित आएका समुदायबासीलाई सम्झाउन खोज्दा उल्टै प्रहरी माथि गाली गलौज गरेको र पिडितले किटानी उजुरी दिने सर्तमा फर्किएको बोहोराले बताए । समुदायका बासिन्दाहरु जीवन रक्षाका निम्ति घरेलु हतियार सहित एकजुट भएका थिए ।


कुटपिटबाट घाइते कुमार विकले अशोक परियार, राजु परियार, कमल परियार लगायतका युवाहरुलाई कार्बाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । उजुरीका आधारमा कुटपिट गर्ने युवाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।

जलजला गाउँपालिका वडा नंं ७ धाइरिङका वडा अध्यक्ष टुंगनाथ आचार्यले एउटा गाउँका युवाहरु अर्को गाउँमा आएर कुटपिटमा उत्रिनु नाजायज भएको बताउँदै दुवै पक्षको कमजोरी केलाएर पिडितलाई न्याय दिनुपर्ने बताए ।साभार –ओकलत अनलाईनवाट


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)