Correspondent, ParbatNepal
6 years ago
1429
बैशाख ६, पर्वत
। पर्वतमा लकडाउनका बेला पनि विकासे आयोजनाको काम नरोकिने भएको छ । लकडाउनको कारण
रोकिएका सडक, खानेपानी, सिँचाइ, भवन निर्माण लगायत काम नरोक्न शनिवार जिल्ला प्रशासन कार्यालयले
निर्देशन दिएको हो । प्रशासनले सुरक्षाका न्यूनतम शर्त पालना गरी विकास निर्माणका
कामलाई निरन्तरता दिन भनेको छ ।
त्यस्तै दैनिक अत्यावश्यक उपभोगका खाद्यवस्तु
उत्पादन गर्ने उद्योग, चिनी तथा चिया उद्योग, पशुपन्छीको दाना उत्पादन गर्ने उद्योग
र इँटाभट्टाहरू सञ्चालनमा ल्याउन पनि प्रशासनले अनुमति दिएको छ । प्रशासनले श्रमिक
र अन्य जनशक्ति अनिवार्य रूपमा कार्यस्थलभित्रै रहनुपर्ने, उनीहरूलाई आवास तथा खानाको व्यवस्था
कार्यस्थलभित्र गर्नुपर्ने,
कार्यस्थलबाट बाहिर जान र कार्यस्थल
बाहिर रहेका परिवारका सदस्य लगायत कुनै पनि व्यक्तिसँग सम्पर्कमा आउन नदिने शर्त
तोकिएका छन् । त्यस्तै कार्यस्थलमा व्यक्ति–व्यक्तिबीच
न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको
स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्न, श्रमिक
लगायत कार्यस्थलमा रहने सवैको दैनिक ज्वरो नाप्न, नियमित स्वास्थ्य जाँच गर्न, मास्क, स्यानिटाइजर तथा साबुनपानीको प्रयोग
गर्न र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले
तोकेको मापदण्डभित्र रहेर काम गरे–नगरेको
प्रदेश सरकार, स्थानीय प्रशासन र स्थानीय तहबाट
अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताएकी छिन् ।
जिल्लामा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग, मोदी–लेखनाथ विद्युत् प्रसारण लाइन, कालीगण्डकी
कोरिडोर विद्युत् प्रसारण लाइन लगायत ठूला आयोजना निर्माणाधीन छन् । लकडाउनका कारण
सबै विकासका आयोजनाको काम बीचमै रोकिएको छ ।
प्रशासनको आदेशपछि मध्यपहाडी लोकमार्गको पर्वत
खण्डमा उपलब्ध मजदूर खटाएर नालीमा स्ल्याब राख्न शुरू गरिएको छ । तर कामदारको
अभावले अन्य काम भने शुरू हुन नसकेको आयोजना प्रमुख आशिष थापामगरले जानकारी दिए ।
मोदीखोलामा निर्माणाधीन दुई जलविद्युत् आयोजनाले पनि काम थाल्ने तयारी गरेका छन् ।
यद्यपि मजदूर घर गएकाले तत्काल भौतिक निर्माण अगाडि बढाउन समस्या छ । तल्लो
मोदीखोला जलविद्युत् आयोजना परीक्षणको तयारीमा छ भने मध्यमोदी जलविद्युत् आयोजनाको
विद्युत्गृहको काम बीचमै काम रोकिएको छ ।
लकडाउनका कारण बीचमै रोकिएका आयोजनाको काम शुरू
गर्न प्रशासनले अनुमति दिए पनि कामदार र कच्चापदार्थको समस्या रहेको लामा
कन्स्ट्रक्सनका प्रतिनिधि गोविन्द भुसालले बताए ।
