Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1212




पर्वत : पोखरा बागलुङ राजमार्ग हुँदै जाने यात्रुहरुलाई खाना ख्वाउन थालियो
पर्वत : पोखरा बागलुङ राजमार्ग हुँदै जाने यात्रुहरुलाई खाना ख्वाउन थालियो

बैशाख ८, पर्वत । पोखरा बागलुङ राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा पैदल जाने र फर्किने यात्रुहरुलाई खाना ख्वाउन थालिएको छ । पर्वतको मोदी गाउँपालिकाका विभिन्न संघसंस्थाको पहलमा सडकमा यात्रा गर्नेलाई खाना ख्वाउन थालिएको हो । सडकमा भोकभोकै र तिर्खा सहँदै हिँड्नेहरुको पीडा देखेर स्थानीयले आफैँ आर्थिक जोहो गरेर खाना ख्वाउन थालेको नेपाल रेडक्रस सोसाईटी तिलाहार देउपूर उपशाखाका सभापती दिपेन्द्रजंग लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार हिजो देखि खाना ख्वाउने कार्यक्रम शुरु भएको हो ।

 

पर्वत हुँदै बाहिरिने र भित्रिनेहरु सेवा गर्ने उदेश्य सहित मेस सञ्चालन गरिएको लामिछानेले बताउनुभयो । मोदी यूवा क्लवले व्यवस्थापन गरि डिमुवा टोल विकास संस्था, स्थानीय यूवा क्लव र रेडक्रस सोसाईटी लगायतका संघसंस्थाले खाना खाने व्यवस्था गरेका हुन् । हिजो ३५ जना र आज १७ जनालाई खाना ख्वाइएको लामिछानेले जानकारी दिनुभयो । अलपत्र परेकालाई खाना ख्वाउन डिमुवा र पातीचौर बजारका व्यापारीले दाल चामल लगायतका सामाग्री सहयोग गरेका छन् । मोदी गाउँपालिकाको समन्वयमा संघसंस्थाले खाना ख्वाउने र समस्यामा परेका यात्रुलाई गन्तव्यमा लैजाने काम गरिरहेका छन् ।

 

मोदी ट्रान्सपोर्ट प्रालीको सवारीसाधान र मोदी गाउँपालिकाले उपलब्ध गराएको दुई वटा वसबाट अलपत्र यात्रुहरु ओसारेर सुरक्षित तरिकाले पठाउने व्यवस्था समेत गरिएको छ ।  स्थानीय होटल व्यवसायी एवं यातायात समितिका ठक्कर प्रसाद शर्माले अलपत्र पैदल यात्रीहरुलाई भोकै हुन नदिने बताउँदै लकडाउनका कारण लामो दूरी पार गरेर आएका बालबच्चा सहितका थकित पैदल यात्रीहरुलाई सेवा गर्न खटिएको बताउनुभयो । यता पर्वतको कुश्मामा पनि शिवालय माविमा मेस सञ्चालन गरि खाना ख्वाउन थालिएको छ ।

 

 ज्याला मजदुरी गुमेर भोकै भौतारिने अवस्थामा पुगेका कुस्मा बजार आइपुगेका मजदुरलाई मध्यनजर गर्दै कुस्मा नगरपालिकाले मेस सञ्चालनमा ल्याएको छ । मुस्ताङ, म्यादी,बाग्लुङ कार्यक्षेत्र रहि घर फकर्ने क्रममा रहि कुस्मा बजारमा वस्नबाध्य भएका यस्ता ज्यालादारी मजदुरलाई खाना खाने व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । यात्रुहरुलाई प्रसासनले रोकेपनि पैदल हिँड्ने रोकिएका छैनन । उनीहरुको दुख र कष्ट टुलुटुलु हेरेर बस्न नसकेपछि खाना खाने व्यवस्था गरिएको जोशीले बताउनुभएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)