Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1163




पर्वतमा २ करोड २० लाख ५० हजारको राहात विवरण गरियो - कुन पालिकामा कतिले राहात पाए हेर्नुहोस् ?
पर्वतमा २ करोड २० लाख ५० हजारको राहात विवरण गरियो - कुन पालिकामा कतिले राहात पाए  हेर्नुहोस् ?

बैशाख ८, पर्वत । लकडाउनको अवधिमा मजदुरी गर्न नपाएका तथा खाद्यान्न खरिद गर्न नसकेका पर्वतका ६ हजार ९ सय ९७ परिवारलाई राहत वितरण गरिएको स्थानीय तहहरुले जानकारी दिएका छन् । २ नगरपालिका र ५ गाउँपालिका गरी ७ पालिकाहरूमा रहेका मजदुर, गरिब, अपाङ्गता भएका तथा एकल रूपमा बस्दै आएका परिवारलाई २ करोड २० लाख ५० हजार मूल्य बराबरको राहत वितरण गरिएको विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन् ।

 

कुस्मा नगरपालिकामा सबैभन्दा बढी २७ सय ८४ परिवारलाई राहत वितरण गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले बताउनुभयो । पालिकाको कोषमा ५० लाख विनियोजन भएको थियो भने अन्य संघसंस्था र व्यक्ति तथा कर्मचारीहरूबाट २१ लाख गरी कुल ७१ लाख संकलन भएको छ । फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालका अनुसार कोषमा जम्मा भएको ६२ लाखमध्येबाट २२ लाख मूल्य बराबरको राहत सामग्रीहरू वितरण गरिएको छ । वडाहरूबाट सिफारिस भई आएका ६ सय ७३ परिवारको लागि खाद्यान्न वितरण गरिएको उनले बताए । यस्तै, पैयुँ गाउँपालिकामा पालिकाले रकमान्तर गरेर छुट्ट्याएको २५ लाख बाहेक अरूबाट कोषमा रकम जम्मा भएको छैन । सोही रकमबाट झन्डै २३ लाख मूल्य बराबरको चामल, नुन, तेल लगायतका खाद्यान्न बाँडिएको प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिनुभयो । महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले पहिलो चरणमा राहात वितरण सकिएको बताउनुभयो । महाशिलाको कोषमा प्रकोप व्यवस्थापनको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

खाद्यान्न सङ्कटका कारण चुल्हो बल्ने अवस्था नै नरहेका ३ सय ६३ परिवारलाई प्रति परिवार २ हजार रुपैयाँ बराबरको खाद्यान्न पर्ने गरी कुल ७ लाख २६ हजारको राहत वितरण गरिएको छ । यस्तै, बिहादी गाउँपालिकाले झन्डै ९ लाख बराबरको राहत सामग्री ५ सय ३८ परिवारलाई बाँडिएको छ । जिल्लाको मोदी गाउँपालिकाले कोषमा जम्मा भएको ३५ लाख रुपैयाँमध्येबाट राहत वितरणको लागि १५ लाख रुपैयाँ खर्च गरेको छ ।

 

प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीका अनुसार कुल ६ सय १० परिवारको लागि पहिलो चरणमा सहयोग उपलब्ध गराइएको छ । जलजला गाउँपालिकाले राहत वितरणका लागि १५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । स्थानीय तहहरुले रासनमा अनियमितता गरेको भन्दै आलोचना समेत सुनिने गरेको छ । बजारमा प्रचलित मूल्यभन्दा बढि मुल्य बिलमा लेखाएर अनियमितता गरेको आरोप लागेको छ । दामासाहि किसीमले राहात बाँड्दा खर्चको पारदर्शितामा प्रश्न उठेको छ ।

 

पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुले कोरोना भाइरस विरुद्ध दीर्घकालीन रणनीति तय गर्नको लागि आवश्यक पछिल्लो तथ्यांक संकलन गरि अध्याबधिक गर्न लागेको छ । महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका अध्यक्ष जिबन उचै ठकुरीले पहिलो पटक कोरोना भाइरस विरुद्ध दीर्घकालीन रणनीति तय गर्नको लागि यस्तो रणनिति अपनाईएको जानकारी दिनुभयो । जसको लागि वडाले स्बयंसेबक तयारी अबस्थामा राखेको समेत बताउनुभयो ।

 

उहाँले तथ्यांक संकलनको लागि सोमबार बाट नै स्वयंसेवक घर घरमा खटाउन लागिएको जानकारी दिनुभयो । व्याक्तिगत विवरण सहित आर्थिक, सामाजिक, शैक्षिक लगायतका विषयमा सर्बेक्षणको शैलीमा तथ्यांक संकलन गर्न थालिएको ठकुरीले बताउनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)