Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2090




करिडोर खुलेपछि कृषकहरु उत्साहित
करिडोर खुलेपछि कृषकहरु उत्साहित


रोशन तिवारी माघ ५ पर्वत- कालीगण्डकी करिडोर सञ्चालन भएपछि कालीगण्डकी नदीको तटिय क्षेत्रका कृषकहरु उत्साहित भएका छन् । करिडोरमा गाडी गुडेसंगै पर्वतका कृषकहरुमा खुशी छाएको हो । जिल्लाको दक्षिण फलेवास नगरपालिका, विहादी र पैयुँ गाउँपालिकाका कृषकहरुका उत्पादन अव वुटवल सम्म पु¥याउन सहज भएको छ ।

कालीगण्डकी तटीय क्षेत्र उर्वर रहेकाले यस भेगमा तरकारी उत्पादन राम्रो हुन्छ । ‘वारीमा फल्ने काउली वेच्न अव समस्या हुन्न, विहादीका कृष्ण पराजुलीले भने, ‘अव तरकारी कुहाएर फाल्नुपर्दैन, कालिपार गाडी आउँछ गाडीमा हालेपछि वुटवल पुग्छ ।’

जिल्लाको फलेवास ११ पाङराङका कृषक पनि करिडोरमा गाडी चल्न थालेपछि हर्षित छन् । त्यहाँको नारायणस्थान सहकारीमा आवद्ध कृषकले विभिन्न तरकारी र तरकारीको वीउ उत्पादन गर्छन । सहकारीमा आवद्ध कृषक माया पाठकले यसअघि वजार नपाएर वीउले भाउ नपाउने हैरानी अव व्यहोर्नु नपर्ने वताईन । उनले भनिन् , ‘हिउँदमा मात्रै गाडी चल्थ्यो वर्खामा ठप्पै, वर्खामा गाडी नचल्दा तरकारी भैँसीलाई ख्वाउनुको विकल्प थिएन । हिउँदमा तरकारी उत्पादन नहुने वर्खामा गाडी नचल्ने समस्याले कृषकहरुले हैरानी खेपेका थिए ।

सडक सुचारु भएपछि गाउँको उत्पादन वजार सम्म पु¥याउन मात्र होईन सामान आयातमा पनि सहज भएको छ । सडक विस्तारपछि टाढाटाढाबाट सामान ल्याउनुपर्ने बाध्यता हटेको छ । परम्पराकालमा वुटवलमा लुगाफाटो, नुन तेल लगायत दैनिक आवश्यक सामान किन्न हिँडेर जानुपर्ने अवस्था थियो । पछि पोखरा वागलुङ राजमार्ग खुलेपछि गाडी चढेर वुटवल सम्म जानेआउने गर्न थाल । निकै घुमाउरो यात्रा गर्दा पैसा र समय वढि लाग्ने समस्या थियो । कालीगण्डकी करिडोर खुलेपछि वुटवल पुग्न १० घण्टा गाडीमा यात्रा गर्नुपर्ने वाध्यता हटेर अव ४ घण्टामै पुग्न सकिने भएको छ ।

विहादी १ वाच्छाका गजाधर आचार्यले भने,‘अव नुन देखि सुनसम्म दैलोमै आउँछ , वाँदर खेल्ने पाखामा गाडी चल्छ भन्ने सोचेकै थिइन ।’ उनले भने,‘अहिले चकित परियो । करिडोरका कारण भविष्यमा रोजगारीको सम्भावना देखेर विदेश जाने र मुलुकका विभिन्न स्थानमा जानेहरू गाउँमै फर्किन थालेका छन् । गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी खेती गर्नेहरू बढेका छन् ।

‘गाउँमै सडकको पहुँचले रोजगारीका धेरै सम्भावना खुलेको देखिएको छ,’ रानीपानीका हरि न्यौपानेले भने, ‘ कृषि, पशुपालन, व्यापार विजनेश गर्न यूवाहरुमा जाँगर चलेको छ ।’ यातायातको सुविधाले कच्चा पदार्थ र तयारी वस्तु ढुवानी सजिलो भएको छ । सडकमा गाडी चलेपछि गाउँमा जे उत्पादन भए पनि पहाडी जिल्ला पाल्पा, स्याङजाका बजार र तराईसम्म सहज रुपमा लैजान सकिएको छ ।’ 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)