Correspondent, ParbatNepal
6 years ago
1377
बैशाख १३, पर्वत । कुश्मा नगरपालिका–८ चुवाले अति गरिव तथा विपन्न परिवालाई निशुल्क औषधी वितरण गर्ने भएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस -कोभिड–१९_ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण नियमित औषधि खरिद गरि सेवन गर्ने व्यक्ति अप्ठ्यारोमा परेको भन्दै वडा कार्यालयले यस्तो निर्णय गरेको हो ।
लकडाउनको कारण आवातजावतमा समस्या भएपछि नियमित औषधी खरिद गरि सेवन गर्ने व्यक्तिहरु समस्यामा पदै आएका थिए । वडा कार्यालयमा समेत नागरिकहरुले गुनासो गर्न थालेपछि यस्तो व्यवस्था गरिएको वडा अध्यक्ष राजकुमार क्षेत्रीले बताउनु भयो । वडा कार्यालयले २४ घण्टा भित्र निरन्तर औषधी सेवन गर्ने व्यक्तिहरुको लागत संकलन गर्ने तयारी गरेको छ । लागत संकलन गरि वडाका अति विपन्न तथा गरिव परिवारलाई निशुल्क र सम्पन्न परिवारलाई सशुल्क औषधी वितरण व्यवस्था गर्ने तयारी रहेको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
साथै वडा कार्यालयले वडावासीहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गदै प्रत्येक नागरिकहरुको घरदैलोमा पुगेर नियमित स्वास्थ परिक्षण गर्ने जनाएको छ । ‘अहिले नागरिकहरुलाई सबैभन्दा बढि चिन्ता स्वास्थ्यको छ, लकडाउनका कारण सबैभन्दा ठुलो चिन्ता जीवनरक्षा बनेर आएको छ । लकडाउनभर नागरिकहरु सहज तरिकाले अस्पतालसम्म पुग्ने अवस्था छैन । त्यसैले हामीले नागरिकहरुको गुनासो र आवश्यकतालाई मध्येनजर गदै निशुल्क औषधी वितरण देखि निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरेका हौँ,’ वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो ।
साथै औषधी खरिद र स्वास्थ्य परिक्षणका लागि आवश्यक बजेट वडा अन्तर्गतको चालु खर्चबाट व्यवस्थापन मिलाईएको छ । वडा कार्यालयले वडामा रहेका अति गरिव तथा विपन्न गरि १ सय ८२ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ भने चुवाको विकास निर्माणमा काम गदै आएका ८० जना मजदुरलाई घर पठाएको छ । साथै कोरोना भाइरसको संक्रमण र रोकथामका लागि विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गदै आएको जनाएको छ ।
