Correspondent, ParbatNepal
6 years ago
1221
बैशाख १३, पर्वत । पर्वतमा लकडाउनको कारण देखाउँदै व्यापारीहरुले खाद्यान्न, पेयपदार्थ र दैनिक उपभोग्य बस्तु र निर्माण सामाग्रीको मुल्य बढाएको पाइएको छ । सर्वसाधारणले हरेक दिन उपभोग गर्ने चामल तरकारी देखी पूर्वाधार निर्माणमा आवश्यक पर्ने सिमेन्ट छडको मुल्य पनि बढेको छ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिढ–१९) को रोकथाम र नियन्त्रण गर्ने सरकारले गरेको लकडाउनका कारण देखाउँदै व्यापारीहरुले उपभोग्य बस्तुको मुल्य बढाएका हुन् ।
दैनिक उपभोग्य सामग्रीको मुल्य आकासिएपछि लकडाउनको समस्यामा परेका गरिव तथा विपन्न नागरिकहरु थप समस्या परेका छन् । मजदुरी गरेर दैनिकी चलाउँदै आएका परिवारलाई मुल्यबृद्धिले थप सकसमा पारेको छ । सदरमुकाम कुश्मा बजार स्थित अमृत जोशी चोकमा अवस्थित किराना पसल संचालन गदै आएका एक व्यापारीले नाम नबताउने सर्तमा भने ‘घोषणा गरेर खाद्यान्नको मुल्य बृद्धि नगरिए पनि औपचारिक रुपमा हरेक खाद्यान्नको दर बढेको छ ।’ ‘लकडाउनको कारण १ सय रुपैयाँ प्रतिकिलो पर्ने मुसुराको दाल अहिले १ सय २० रुपैयाँमा पुगेको छ । लकडाउन अगाडी ८० रुपैयाँमा पाईने केराउ अहिले १ सय २० पर्छ,’ व्यापारीले भने ।
त्यस्तै चामलको बोरामा ५० रुपैयाँ बढेको व्यापारीहरु बताउँछन् । ८० मा पाईने तेलको मुल्य अहिले बढेर ९० रुपैयाँमा पुगेको छ । चामल दालको मुल्य मात्र होईन सर्वसाधारणले दैनिक उपभोग गर्ने तरकारीको मुल्य सबैभन्दा बढि बढेको छ । लकडाउन अघि प्रतिकेजी ८० रुपैयाँमा पाईन गोलभेडा अहिले १ सय ५० रुपैयाँमा बच्ने गरेको स्वयम् व्यापारीहरु बताएँछन् । आलुको मुल्य बढेर प्रतिकेजी ६० पुगेको छ भने अन्य तरकारीको मुल्य पनि आकासिएको उपभोक्ताको गुनासो छ ।
लकडाउनका कारण हार्डवयरका सामग्रीको मुल्य पनि ह्वत्तै बढेको पाईन्छ । सिमेन्टको मुल्यमा ८० रुपैयाँसम्म बढेको व्यापारीहरुले बताए । लकडाउनको कारण हार्डवेयरमा भन्दा पनि ढुवानी भाडा बढेकाले मुल्यबृद्धि भएको हार्डवयर व्यापारीहरुको भनाई छ ।
