Correspondent, ParbatNepal
6 years ago
1796
बैशाख २२, पर्वत । पर्वत जिल्लालाई अग्ला पुलैपुलको जिल्ला भनिन्छ । पछिल्लो एक दशक यता कालीगण्डकी नदि माथि सानाठुला धेरै झोलुङ्गे पुल बनेका छन् ।
बागलुङ र पर्वत जोड्नेगरी बनेका पुलले नेपालको पहिचानलाई बदल्न प्रयास गरेका छन् । २०७० सालमा पर्वत सदरमुकाम कुश्मा बजारसँग जोड्नेगरी बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा ३४७ मिटर लामो पुल बन्यो ।
कालीगण्डकीमाथि १५६ मिटरको उचाईमा बनेको यो पुल नेपालकै अग्लो झोलुङ्गे पुल हो । यो बाहेक कैयाबाट पर्वतको फलेवास नगरपालिकाको मुडिकुवा जोड्ने पुलको डिपिआर बनेर निर्माण प्रक्रियामा छ । नारायणस्थानकै कुकुरगाडेदेखि कुश्मा जोड्ने पुलको प्राबिधिक स्टमेट तथा अध्ययनको काम भैरहेको छ ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवाबारी जोड्नेगरी अर्को पुल निर्माण भयो । २०७५ सालको चैतमा निर्माणको काम थालिएको यो पुल २०७६ सालको चैत सकिँदा केही सामान्य कामबाहेक पुर्वाधार निर्माणको अन्तिम नतिजा दिन सक्यो । झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङमा बिश्वकै लामो झोलुङ्गे पुल निर्माण हुन सक्यो । बागलुङ–पर्वत जोड्नेगरी कालीगण्डकीमाथि निर्माण भएको बिश्वकै लामो पुल अब गिनिज बुक अफ दि वल्ड रेकर्डमा दर्ज हुने प्रक्रियामा छ । जसको पहल बागलुङ नगरपालिकाले थालेको छ ।
यो पुल गिनिजबुकमा दर्ज गर्ने प्रक्रिया शुरु भएसँगै नेपालको पहिचान थप उचाईमा पुग्ने विश्वास गर्न थालिएको छ । ५६७ मिटर लामो सिंगल स्पानको पुल निर्माण सम्पन्न भएसंगै गिनिजबुक अफ वल्र्ड रेकर्डमा पठाउने तयारी भएको हो । सिंगल स्पान प्रबिधिमा बनेको झोलुङ्गे पुलमध्ये यसअघि स्वीजरल्याण्डमा ४९४ मिटर लामो झोलुङ्गपुल रहेको अन्तराष्ट्रिय समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।
स्वीजरल्याण्डको भन्दा बागलुङमा निर्माण भएको पुल ७३ मिटर लामो रहेको बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदी बताउँछन् । बागलुङ नगर कार्यपालिकाको बैठकले अन्तराष्ट्रिय रूपमा चिनाउनको लागि गिनिजबुक अफ वल्र्ड रेकर्डमा पठाउने निर्णय गरेको छ । जसका लागि नगरले तथ्यांक बिभागलाई विश्वको तथ्यांकसँग दाँज्न अनुरोध गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई प्रक्रिया थाल्नका लागि अनुरोध पठाउने बिधि तय गरेको सुवेदीले बताए । सिंगल स्पान प्रविधिमा निर्माण भएको सो पुल बिश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल भएको प्रमाणसहित गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता प्रक्रिया अगाडि बढाउन लागेको उनले बताए ।
झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङमा ५ सयभन्दा बढी झोलुङ्गे पुल छन् । सामान्यतया ५ मिटरदेखि ५६७ मिटर लामो पुल बागलुङमै रहेका छन् । गिनिजबुक अफ वल्र्ड रेकर्ड संस्थामा पठाउनु पर्ने कागजात तयार गरि प्रक्रिया अगाडि बढाउने त्यस पश्चात बिश्व कै लामो पुल भएको परिणाम आउने छ । साभार : ढोरपाटन अनलाईनवाट
