Correspondent, ParbatNepal
6 years ago
1310
बैशाख २४, पर्वत । फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित थापाथरका दिलबहादुर थापाको घुमाउने घरमा यदाकदा फोटो खिच्नेहरु भेटिन्छन्। बाटो हिँड्दै गरेका केही मान्छेले बाटोबाटै घरको फोटो र भिडियो पनि लिन्छन्। आफ्नो घरको फोटो सबैले खिच्ने अनि गाउँमा पुगेका मान्छेहरूले घरलाई अचम्म मानेर हेर्दा दिलबहादुरलाई आफ्नो घर केही खास हो जस्तो लाग्छ, यही कारण उनले बर्सौँ पुरानो घरलाई संरक्षण गरेर नयाँ घर बनाएका छन्। गाउँघरमा पाइने पुराना घरहरू प्रायः आयातकार हुने गर्छन्। गोलो आकारका घर निर्माण पनि कठिन हुने गर्दछन्।
पछिल्लो समय निर्माण गरिएको घरहरू गोलाकार नहुने भएका कारण धेरैलाई नौलो लाग्छ। खरको छाना, गोलाकार भित्ता र पिँडीमा रातो माटोले लिपपोत अनि झ्याल र ढोकामा ‘सेल ब्याट्री’को कालो रङले रंगाइएका घरहरूले धेरैको मन लोभाउँछन्। जाडो र गर्मी दुवै मौसमका लागि उपयुक्त हुने यस्ता खालका घरहरू पछिल्लो समय कम मात्रै देख्न पाइन्छ। घुमाउने घरहरू नेपाली मौलिक कला भएका कारण आफ्ना बाजेका पालामा बनेको घर भत्काउने सोच आपूmमा नआएको दिलबहादुर बताउँछन्। ‘मेरा बाजेका पालामा बनेको यो घर जीर्ण भएको छ, एकातिर ढल्किएको छ। अर्को घर बनाउन घडेरी नहुँदा पनि यो घर भत्काउन मन लागेन,’ उनले भने, ‘यो मेरा बाजेको चिनो हो, नेपालको मौलिक कला र पहिचान हो। यो बाटो हिँड्ने सबैले घरको फोटो खिच्दै हिँड्दा मलाई पनि खुसी लागेको छ।’ आयातकार घरमा जस्तापाताले छानो छाउँदा घर निर्माण सजिलो र छिटो हुने भएका कारण खरले छाएका घुमाउने घरहरू लोप भएका छन्।
कतिपय स्थानीय तहले पुराना खालका यस्तै घरहरू संरक्षणका लागि घर मालिकलाई प्रेरणा दिने काम गरेको भए पनि अधिकांश स्थानीय तहरुले खरका छाना विस्थापनको अभियान ल्याएका छन्। नागरिकलाई पनि खरले छाइएका छाना राम्रो लाग्दैन। ‘एक दुई वर्षमै पानी चुहिने समस्या आउँछ खरको छानोमा। आगलागीको जोखिम पनि उत्तिकै हुन्छ,’ फलेवासका नारायण पौडेलले भने, ‘बस्नका लागि त जस्ता पाताभन्दा खरको छानो ठिक हो, गर्मीमा शीतल र जाडोमा न्यानो हुन्छ। अहिले खर पनि पाउन नै छाडियो।’ कतिपय पर्यटकीय स्थल तथा ‘होमस्टे’हरू सञ्चालन गरिएका गाउँमा पाहुनाहरूको आकर्षणलाई ध्यानमा राखेर खरका छाना भएका घुमाउने घरहरूलाई जीर्ण भएकै अवस्थामा पनि संरक्षण गरेर राखिएको छ।
बस्नका लागि न्यानो र शीतल दुवै गुण भएका यस्ता खालका घरहरूको मुख्य बेफाइदा धेरै कोठा नहुनु हो। पछिल्लो समय निर्माण गरिएका घरहरुमा धेरैवटा कोठा हुन्छन्। घुमाउने घरहरूमा धेरै कोठा हुँदैनन्। प्रायः दुई तले हुने घुमाउने घरको भुइँ तलामा खाना पकाउने र खाने, सुत्ने गर्नुपर्ने र माथिल्लो तलामा अन्नपात भण्डार गरेर राख्नुपर्ने भएका कारण पनि विस्थापनको बाध्यता भएको धेरैको भनाइ छ। पत्रकार संजय रेग्मीले थाहा खवर अनलाइनमा लेख्नुभएको समाचार हामीले साभार गरेका हौँ ।
