Correspondent, ParbatNepal
6 years ago
1190
बैशाख २७, पर्वत । बैशाख २७, पर्वत । साविकको धौलागिरी अञ्चलमा फाईवर सेवा जडान गरिएको छ । सुस्त गतिको इन्टरनेट र भ्वाईसका कारण हैरान परेका ग्राहकलाई सुविधा दिँदै नेपाल टेलिकमले फाईवर सेवा जडान गरिएको हो । धौलागिरी अञ्चललाई तामाको तारमुक्त बनाउने अभियान अन्तर्गत अप्टिकल फाईवरमार्फत आफ्ना सेवाहरुलाई द्रुत गति प्रदान गर्दै टेलिकमले धौलागिरीका चार जिल्लामा सेवा बिस्तार गरिएको टेलिकम बागलुङले जनाएको छ ।
तत्कालका लागि धौलागिरीका चार जिल्ला सदरमुकाममा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा सुरु भएको नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले बताए । फाईवरको बिस्तारसँगै चारै जिल्ला मुकाममा टाँगिएको झण्डै ५० किमी तामाको तार बिस्थापन हुने छ ।
बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङगरि चारै जिल्लामा नयाँ प्रबिधिको फाईवर सेवा बिस्तारको जिम्मेबारी बागलुङस्थित कार्यालय पाएको थियो । जिल्लामा रहेका टेलिकम सँगको समन्वयमा बजार क्षेत्रमा पहिलो चरणमा फाईवर लाईन बिस्तारको काम सकिएको शर्माले बताए । लकडाउनकै समयमा हिमालपारीको जिल्ला मुस्ताङमा समेत फाईवर लाईन विस्तार भएसँगै धौलागिरी तामाको तारमुक्त बन्ने चरणमा प्रबेश गरेको हो ।
बागलुङमा २ हजार ३ सय ७०, पर्वतमा ३ सय र म्याग्दीमा ७ सय ग्राहकले फाईवरमार्फत प्रसारित टेलिकमका सेवा उपभोग गरिसकेका छन् । मुस्ताङमा पनि ९ किमी फाईवरको तार बिस्तार गरेर तामाको तार हटाउने काम भैरहेको टेलिकम बागलुङ शाखाका सुपरभाईजर केशव सापकोटा बताउँछन् । मुस्ताङका ४ सय ग्राहकले तत्कालका लागि यो सेवा प्रयोग गर्न पाउने छन् ।
हाल सञ्चालनमा रहेको ‘कपर वायर’ले उच्च गतिको इन्टरनेट तथा भ्वाईस सेवा प्रवाह गर्न नसक्ने भएकाले फाईवर सञ्चालनमा ल्याईएको हो । टेलिकमको देशव्यापी कार्यक्रम रहेको भएपनि ठुलो संख्यामा ग्राहकलाई फाईवरमार्फत सेवा पु¥याउने टेलिकम बागलुङ पहिलो शाखा बनेको छ ।
फाईवरमार्फत इन्टरनेट प्रयोग गर्ने ग्राहकले मासिक न्युनतम ८ सय रुपैयाँको प्याकेज लिन सक्छन् । फोन र टेलिभिजनको प्रयोगका लागि छुट्टै प्याकेज बनाईएको छ । यो बाहेक अझै उच्च क्षमताको इन्टरनेट उपभोक्ताको मागबमोजिम उपलव्ध गराउन सकिने सुपरभाईजर केशव सापकोटा बताउँछन् ।
भरपर्दो, गुणस्तरीय तथा तिब्र गतिको डाटा सर्भिस लिन चाहने ग्राहकहरुको आवश्यकता फाइबर टु होमले पुरा गरिदिने अपेक्षा टेलिकमले लिएको छ । नेक्स्ट जेनेरेशन नेटवर्क प्रविधिअन्तर्गतको यस सेवालाई ‘एनटी फाइबर’ को नामबाट बजारीकरण गरिएको थियो । यो भन्दा पहिला प्रयोगमा रहेको कपर प्रबिधिको गति ५ एमविपिएस मात्रै थियो । निकै कम गतिको इन्टरनेट तथा भ्वाईस डाटाका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका थिए ।
