Correspondent, ParbatNepal
6 years ago
1494
बैशाख २८, पर्वत । मोदी गाउँपालिका–१ भुकताङ्गकी मिलौती कमिनी वडा कार्यालय मार्फत घरमै राहातस्वरुप चामाल, दाल, तेल र नुन पाउँदा दङ्ग पर्नुभयो । उहाँले भन्नुभयो,‘घरमै यसरी राहात पाउँला भन्ने सोचेकी थिएन ।’ मजदुरी गरेर परिवार पाल्दै आएकी कमिनीलाई लकडाउन भएपछि के खाने भन्ने चिन्ता बढिरहेको थियो । वडा कार्यालयले घरमै पुगेर राहात दिएपछि उहाँमा खुशीको सिमानै रहेन ।
भुककै मैते विकले पनि घरमै खाद्यान्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो लागि भगवान बनेर आउनु भयो । हामीले सोचेका पनि थिएनौँ, यसरी घरमै राहात पाईएला भनेर, तपाईहरुको जय होस् ।’
वडा कार्यालयले लकडाउनका कारण प्रभावित बनेका ६ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । वडा कार्यालयले मापदण्ड बनाएर विपन्न, असहाय तथा मजदुरलाई खाद्यान्न सामग्री वितरण गरेको हो । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएका परिवारलाई खाद्यान्न वितरण गरिएको मोदी गाउँपालिका–१ भुकताङ्गका कार्यवाहक वडा अध्यक्ष भुलवहादुर पौडेलले जानकारी दिनुभयो । मोदी गाउँपालिकाको समन्वयमा विभिन्न दाताहरुको सहयोगमा राहात वितरण गरेको पौडेलको भनाई छ । उनीहरुलाई एक बोरा चामाल, २ किलो दाल, ३ पोका तेल र १ पोका नुन लगायतका सामग्री वितरण गरेको पौडेलले बताउनु भयो ।
लकडाउनका कारण कोही पनि भोकभोकै पर्न नदिन वडाले खाद्यन्न वितरण गरेको उहाँले बताउनु भयो । ‘हाम्रो वडामा ९ सयको हारहारीमा घरधुरी छन् । उनीहरु मध्ये गरिव, असहाय र निम्न वर्गका घरपरिवारलाई राहात उपलव्ध गराईसकेका छौँ, लकडाउन लम्विदै गएरमा उनीहरुलाई पुन राहात स्वरुप खाद्यान्न वितरण गर्ने छौँ,’अध्यक्ष पौडेलले भन्नुभयो । राहात पाएपछि स्थानीय नागरिक खुशीले व्यक्त गरेका छन् ।
