Correspondent, ParbatNepal
5 years ago
1335
असार २४, पर्वत । नेपाली सेफहरुको हकहित तथा संरक्षणका लागि खुलेको नेप्लिज सेफ एसोसिएसन यूकेले निःशुल्क सदस्यता वितरण गर्ने भएको छ । गत सोमबार बेलायतमा बसेको भर्चुअल ‘जुम’ बैठकले कोरोनाको प्रभावमा परेका नेपाली सेफहरुलाई आर्थिक व्ययभार नपर्ने गरि निस्शुल्क सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष दधि आचार्यले जानकारी दिए ।
उनका अनुसार विगतमा सदस्यता शुल्क बापत न्यूनतम ५ पाउण्ड लिइरहेको एसोसिएसन यूकेले अबदेखि सदस्यता शुल्क नलिने निर्णय गरेको छ । सेफ एसोसिएसन यूकेले संस्थाको वेभसाइटमार्फत नयाँ सदस्यताको फारम भर्ने व्यवस्था समेत गरेको छ । आचार्यको अध्यक्षतामा बसेको बैठकले अनलाईनमार्फत सदस्यताका लागि निवेदन दिन पनि नेपाली सेफहरुलाई आव्हान गरेको छ ।
“अब सेफ साथीहरुले संस्थाको वेभसाइटमार्फत नयाँ सदस्यका लागि फारम भर्न सक्नुहुनेछ,” अध्यक्ष आचार्यले भने । कोभिड (१९ का कारण बेलायत सरकारले जमघट र भेटघाटलाई निरुत्साहित गरेपछि अनलाईन माध्यमबाट धेरै कुराहरु भैरहेको सन्दर्भमा संस्थाको वेभसाइट संचालन ल्याइएको बताइन्छ ।
“कोभिड (१९ बाट आफू बच्नुहोस्, अरुलाई बाँच्न सहयोग गर्नुहोस् भन्ने मूल मन्त्र लिएर सेफ एसोसिएसन अघि बढी रहेकाले कोरोना भाइरसको संक्रमणबाट जोगिन बैठकले सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ” उनले भने । बैठकले कोभिड( १९ का कारण स्थगित गरिएको नेपाली पहिचानका खानासहितको फुड फेस्टिवललाई वर्तमान स्थितिमा सुधार आउने बित्तिकै गर्ने योजना बनाएको छ ।
