Correspondent, ParbatNepal
5 years ago
1357
२५ असार, पर्वत । जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । जिल्ला प्रसासन कार्यालयले विहीवार देखि परिचयपत्र वितरण गर्न सुरु गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।
तिमिल्सिनाले आफ्नो व्याक्तिगत विवरण फारम भर्नुभयो भने दर्ता सहयोगी मार्फत फोटो खिचाउनुभयो । प्रसासन कार्यालयमा सेवा शुभारम्भ गर्दै तिमिल्सिनाले राष्ट्रिय परिचयपत्रको महत्वको बारेमा पनि प्रष्टाउनुभएको छ । राष्ट्रिय परिचयपत्रले नागरिकलाई विभिन्न सेवा लिन र सरकारलाई व्यक्तिगत विवरण संकलन गर्न सहयोग पुग्ने तिमिल्सिनाको भनाई छ ।
यो परिचयपत्रमा प्रयोग हुने चिप्समा व्यक्तिगत विवरण, भौतिक सम्पत्तीको अवस्था, बैंकिङ कारोबारको अभिलेख, सुरक्षा व्यवस्थापन लगायत विवरण राख्न सकिन्छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले प्रसासनले विहीवार बाट सर्वसाधारणहरुका लागि पनि परिचयपत्र वितरणको शुरुवात गरेको जानकारी दिनुभएको छ । तत्कालका लागि जिल्ला प्रसासन कार्यालयमा डेस्क स्थापना गरि परिचयपत्र वितरणको शुभारम्भ भएको बताउँदै रेग्मीले भविष्यमा सात वटै स्थानीय तहमा सेवा विस्तार हुने बताउनुभयो ।
आगामी तीन वर्षमा १ लाख ५० हजारलाई यो खालको परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको प्रजिअ रेग्मीले सुनाउनुभयो । अव नागरिकता प्राप्त सबै व्याक्ति र नयाँ नागरिकता प्राप्त गर्न आउने सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने जिल्ला प्रसासन कार्यालयको तयारी छ ।
