Correspondent, ParbatNepal
5 years ago
1591
असार २६, पर्वत । कालीगण्डकीमा पानीको सतह बढेपछि पर्वतको
सेतीबेनी बजार जलमग्न भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव बढ्दै गएपछि बजार डुबानमा
परेको स्थानीय दिनेश भुसालले जानकारी दिनुभएको छ ।
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा भीषण वर्षा भएकाले
उर्लिएको कालीगण्डकीले दिउँसो बाट सेतीबेनी स्थित शालिग्राम शिला परिक्रम स्थल ढाकेको
छ भने तल्लोबजार क्षेत्रका केहि घर जलमग्न भएका छन् । कालीगण्डकी जलविद्युत आयोजनाको
ड्याममा पानीको सतह बढ्दै गएपछि सेतीबेनी बजार डुवानमा परेको भुसालले बताउनुभयो । सेतीबेनी
बजारलाई डुबानबाट बचाउन कालीगण्डकी ए जलबिद्युत केन्द्रको बाँधका सबै ढोका खोल्न पर्वत
र स्याङजा प्रशासनले अनुरोध गरेको छ ।
जलबिद्युत केन्द्रमा ४२ ढोका रहेका छन । बाढीको खतरा भएपछि सबैढोका खोल्न निर्देशन दिइएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । कालीगण्डकी नदीका दुबै किनारमा कालीगण्डकी करिडोर लोकमार्ग निर्माण भैरहेको छ । कालीगण्डकी र सहायक नदी तथा खोलाहरुमा पनि सडकमा खनिएको ढुंगा, बालुवा र माटो यही जलासयमा आएर भरिने थुप्रिने भएकाले थप जोखिम बढेको छ । स्याङजा तर्फ आँधीखोलामा बालुवाको टापु नै बनेको स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो । वर्षाका कारण नदिमा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरू लाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
म्याग्दी बाग्लुङ र पर्वत जिल्लाका प्रशासन कार्यालयले कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् । कालीगण्डकी नदीको किनारमा रहेका म्याग्दीको बेनी बजार , पर्वतको वारी बेनी बजार, पर्वतको मालढुंगामा रहेको माझी बस्ती , सेतीबेणी वजार लगायतका क्षेत्र उच्च जोखिममा परेका छन् । वर्षा रोकिएपनि राती थप वर्षा हुन सक्ने भएकाले कालीगण्डकी नदी तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
https://www.facebook.com/irishwor.sharma/videos/pcb.726521414829246/726521261495928/?type=3&theater
