Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1336




नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ द्धारा ७५ जना परिवारलाई ३० लाखको सहयोग
नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ द्धारा ७५ जना परिवारलाई ३० लाखको सहयोग

पर्वत । नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा जलजला गाउँपालिकाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा अध्यक्ष मल्लले उक्त राहत वितरण अभियान सञ्चालन गर्नुभएको हो । जलजला गाउँपालिकाका वडा नं २, ४, ५ र ७ नम्बर वडाका आठसय विपन्न परिवारलाई लक्षित गरि वितरण गर्न लागिएको उक्त राहत सामग्री अन्तर्गत प्रति परिवारलाई ४० केजी चामल, चार केजी दाल, तीन लिटर तेल र दुई केजी नून रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

 

आइतबार जलजला –७ धाईरिङका एकसय ७५ जना परिवारलाई एक कार्यक्रमका बीच राहत वितरण शुभारम्भ गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले कोरोनाको महामारीबाट आक्रान्त भएका र लकडाउनको कारण श्रम गर्नबाट समेत बञ्चित भएका दलित तथा विपन्न वर्गको समस्यालाई मध्यनजर गर्दै आफूले दाता संस्थासँग गुहारेर उक्त राहत सामग्री जुटाएको वताउनु भयो । अध्यक्ष मल्लले गाउँपालिकाभित्रका अति निम्न गरीब, दलित र कमजोर आय भएका समुदायलाई हेरेर यो कार्यक्रम बनाइएको वताउँदै आउँदा दिनमा अन्य वार्डमा समेत यस्तो कार्यक्रम संचालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष मल्लले यो राहत सहयोगका लागि समन्वय गरिदिने प्रदेश सभा सदस्य ललितकला गुरूङ र मोदी गाउँपालिका( १ भूकका वडाअध्यक्ष भूलवहादुर पौडेलप्रति पनि आभार व्यक्त गर्नुभएको थियो ।

 

जलजला गाउँपालिकाको वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक तथा वडा नं –४ का वडा अध्यक्ष भीष्म मल्लको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय र कार्यपालिका सदस्य मायाकुमारी शर्मा लगायतले राहत सहयोग जुटाएर विपन्न वर्गको जीविकोपार्जनमा महत्वपूर्ण योगदान गर्ने अध्यक्ष मल्लको प्रशंसा गर्नुभएको थियो । जलजला गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको संचालन जलजला गाउँपालिकाका शाखा अधिकृत लीलाधर सुवेदीले गर्नुभएको थियो । आज शुभारम्भ भएको राहत वितरण कार्यक्रम अन्य वार्डमा समेत भोलि र पर्सी क्रमश गरिने जलजला गाउँपालिकाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)