Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1385




९ जनाको ज्यान लिएको दुर्लुङ पहिरोबारे के भन्छन् भूगर्वविद् ?
९ जनाको ज्यान लिएको दुर्लुङ पहिरोबारे के भन्छन् भूगर्वविद् ?

पर्वत ।  गत जेठ ३१ गते राति ९ जनाको मृत्यु हुने गरी पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा आएको पहिरोको विषयमा अध्ययन गरेको भूगर्वविद्को टोलीले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

 

पहिरो जानुको कारण र त्यस क्षेत्रको जमिनको आगामी अवस्थाबारे पत्ता लगाउन खानी तथा भूगर्भ विभागले स्थलगत भौगर्भिक अध्ययन गरेको थियो। अध्ययनले पहिरो जाँदाको दिन करिब ३ घण्टासम्म लगातार मुसलधारे वर्षाको कारण भिरालो जमिनमा पहिरो उत्पत्ति भई सतहको माटो र रुख बिरुवासमेत बगेको तथा केही तलको समथर स्थानमा छोटो समय थुनिन गई एक्कासि विस्फोट हुँदा तल्लो तटीय क्षेत्रको समथर भूभागमा रहेको बस्तीमा पहिरोले बगाएर ल्याएको गेग्रान थुप्रिई २ घरमा क्षति पुग्नुको साथै आसपासका १० घर उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ।

 

‘पहिरोको वर्तमान अवस्था र निकट भविष्यमा हुने वर्षालाई समेत आकलन गरी पहिरो आसपासका १० घर तत्कालका लागि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ। अध्ययनको नेतृत्व गरेका भूगर्वविद् शिवकुमार बास्कोटाले भने, ‘पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनियरिङ पद्धति अवलम्बन गर्न सकिने पनि प्रस्ताव गरिएको छ।

 

 प्रतिवेदनमा काफलबोट÷काउलेका ७ घर र खेतसहितको जमिन अस्थिर भई तलतिर बिस्तारै सर्ने क्रममा रहँदा घरहरू ढल्केको तथा चर्केको अवस्थामा पाइएकोले त्यो ठाउँको बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ।  ढकालबारीदेखि नुवारखोलासम्म ठूलो भूभाग पनि लामो समयदेखि तलतिर सरेको पाइएको भूगर्वविद् बास्कोटाले बताए। उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि सुझाव दिइएको छ।  सडक निर्माणका क्रममा जमिन काटिँदा, काटिएको माटो अव्यवस्थित तवरले फ्याकिँदा तथा साइड ड्रेन (नालीहरू) व्यवस्थित नहुँदा कोटगाउँ, गैराथोक र घोगेनी क्षेत्रका केही घरहरूमा जोखिम बढेको देखिएकोले त्यस्ता कार्यहरू गर्दा आवश्यक प्राविधिक अध्ययन तथा सर्वेक्षण गरी बस्ती सुरक्षित हुने हिसाबले गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ।

 

भूगर्भविद्को रिपोर्टका आधारमा पहिरोबाट पूर्ण क्षति भएका २ तथा आसपासका १० घर, काफलबोट÷काउलेका ७ घर र ढकालवारिदेखि नुवारखोलासम्म रहेका घरहरू सुरक्षित स्थानमा सार्न सहरी विकास मन्त्रालय मार्फत काम हुने छ।  त्यसै गरी पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायोइन्जिनियरिङको कामलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत थप अध्ययन गरी अघि बढाइने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए।साभार–थाहा खवरवाट

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)