Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1263




पर्वतको कुश्मामा आधुनिक बसपार्क सहित सिटी हल बन्दै
पर्वतको कुश्मामा आधुनिक बसपार्क सहित सिटी हल बन्दै

मंसिर १३ पर्वत । पर्वतको कुश्मामा आधुनिक बसपार्क सहित भव्य सिटिहल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । संघीय सरकारको शहरी विकास मन्त्रालयले कुश्मामा वसपार्क सहित सिटीहल निर्माणका लागि बजेट बिनियोजन गरेपछि आवश्यक प्रक्रिया थालिएको हो । कुश्मा नगरपालिकाले उक्त कार्यका लागि डिपीआर तयार पारिसकेको छ । 

तत्कालका लागि प्रारम्भिक काम गर्न मन्त्रालयले एक करोड बजेट पठाईसकेको छ । डिपीआर निर्माण पश्चात बहुवर्षे ठेक्काको प्रक्रिया शुरु हुने कुश्मा नगरपालिकाले जनाएको छ । अहिले एक करोड रकम बाट जग्गा सम्माउने, पर्खाल निर्माण गर्ने, प्रारम्भिक चरणमा आवश्यक पर्ने निर्माण सामाग्री खरिद गर्ने लगायतका काम हुने कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँले कुश्मामा लामो समयदेखि चर्चामा आउँदै सेलाउँदै गरेको बसपार्क निर्माणको कामले अब भने गति लिएको बताउनुभएको छ । सरकारले बजेट पुस्तिकामा कुश्मामा बसपार्क निर्माण गरिने उल्लेख गरेको छ । कुश्मा नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा वसपार्क सहित सिटीहल निर्माणलाई प्राथमिकतामा राखेको थियो ।

संघीय सरकार र स्थानीय सरकारको जोडबलले कुश्मामा बसपार्क र सिटीहल निर्माणको काम पुरा हुने नगरप्रमुख जोशीले बताउनुभयो । कुश्मा बजार बिस्तार हुँदै गैरहेको, भित्री र वाहिरी चक्रपथ निर्माण भैरहेको, पर्यटकिय स्थलहरु थपिँदै गएकोले कुश्मा आधुनिक शहरको रुपमा विकास हुन थालेको जोशीले बताउनुभयो । आफुहरुको कार्याकालमै बसपार्क निर्माणको उद्घाटन हुने र वहुवर्षे ठेक्का मार्फत काम निरन्तर अगाडी बढिरहने जोशीले बताउनुभयो । 

शहरी विकास कार्यालय बागलुङलाई कुश्मा नगरपालिकाले प्रारम्भिक चरणमा गर्नुपर्ने कामको सूचि तयार पारेर दिने तयारी गरेको छ । त्यसका लागि स्थलगत अनुगमन गरि प्राविधिकहरुले प्रतिबेदन तयार गर्न थालेको जोशीले बताउनुभयो । कुश्मा नगरपालिका ६ का वडाध्यक्ष रुद्र गिरीले वसपार्क निर्माणका लागि यसअघि पनि धेरै पटक पहल भएपनि सबै पहल खेर गएको स्मरण गर्दै अब भने वसपार्क निर्माणको काम बिचमै नरोकिने दाबी गर्नुभयो । उहाँले आवश्यक प्रक्रिया अगाडी बढेको भन्दै अर्को वर्ष देखि धमाधम काम हुने भएकाले कुश्माबासीहरुलाई वसपार्कको सपना पुरा हुने विश्वास दिलाउनुभयो । 

वसपार्क तीन तल्लाको निर्माण हुने गरि डिपिआर तयार भएको छ । भुईतल्लामा ठूला बस, पहिलो तलामा सभाहल , दोस्रो तलामा साना सवारी पार्किङ गरिने र तेस्रो तलामा १५० जना भन्दा बढि मानिस हट्ने हल निर्माण गरिने भएको छ भने लिफ्ट र ¥याम्प सहितको सिँढी पनि जडान हुने जनाईएको छ । सबै काम सम्पन्न गर्न करिव एक अर्ब बजेट लाग्ने अनुमान छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)