Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1236




मध्यपहाडी लोकमार्ग दैनिक तीन घण्टा बन्द हुने
मध्यपहाडी लोकमार्ग दैनिक तीन घण्टा बन्द हुने

मंसिर २० पर्वत । निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा शुक्रवार बसेको सर्वपक्षिय बैठकले अप्ठेरो भिरमा कटान गर्नका लागि मंसिर २१ गते आइतवार देखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय भएको हो ।
लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ७ खरेहादेखि वडा नं. ८ को दोबिल्ला बिचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निणर्य भएको छ । पर्वतको सडक खण्डमा बिहान ११ बजे देखि दिउँसो साढे २ बजे सम्म सडक बन्द निणर्य भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा अहिले धमाधम काम भैरहेको छ । अहिलेसम्म लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको र खरेहा र चुवाको भीर तथा चुवादेखि दोविल्ला बीचको दुरीमारहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो ।
सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताउनुभयो । आयोजनासँंग ३६ महिनामा निर्माण काम सक्ने गरि सम्झौता भएपनि गत भदौमा सम्झौता अवधि सकिईसकेको छ । कोभीड-१९ का कारण झण्डै ७ महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरु भएको थियो ।
पर्वत खण्डमा सडक स्तरोउन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि शुरु गरिएको छ । स्तरउन्नतीको कामलाई तीब्र बनाउँदै मोदीखेत देखि कालोपत्रे बिच्छ्याउन शुरु गरिएको भुसालले जानकारी दिनुभयो ।
कम्पनीका प्रतिनिधी राजाराम आचार्यका अनुसार जाडो नबढे सम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ । अनुकल भए सम्म कास्की र पर्वतको सिमाना सम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने आचार्यले बताउनुभयो । ‘तापक्रम पुग्ने र बर्षाले नरोके सम्म कालोपत्रे बिच्छ्याउने काम भैरहन्छ ।’ उहाँले भन्नुभयो ‘सडकको बाँकी खण्डमा पनि काम निरन्तर भैरहन्छ ।’
निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले रु.८३ करोड ९८ लाख रुपैयामा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ । बागलुङ्गको सिमाना मालढुंगा देखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अबस्था छ ।
‘अहिले बाँकी रहेको स्टक्चरको काम र बेस राखेको ठाउँमा कालोपत्रे बिच्छ्याउने काम शुरु भएको छ ।’ प्रोजेक्ट म्यानेजर भुसालले भन्नुभयो ‘बाँकी काम पनि यसै आर्थिक बर्षमा सबै काम पुरा हुन्छ, पहिले जस्तो काम रोकिने अबस्था छैन ।’
पर्वत खण्डमा सडक निर्माण कार्य लामो समय सम्म अलपत्र भएपछि ब्यबस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन समेत गरेर काम थालिएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख मेघराज मरासिनीले अहिले पर्वत र बागलुङ खण्डमा तीब्र रुपमा काम भैरहेको बताउनुभयो । चालु आर्थिक वर्ष भित्रै सवै काम सम्पन्न हुनेगरी काम भैरहेको उहाँको भनाई रहेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)