Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1228




संसद विघटन जायज कि नाजायज ? पर्वतमा केहि प्रतिनिधीहरुको बिचार यस्तो छ
संसद विघटन जायज कि नाजायज ? पर्वतमा केहि प्रतिनिधीहरुको बिचार यस्तो छ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए । तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् । संसद विघटन गर्नु लाई पर्वतका जनप्रतिनिधी, राजनीतिक दल तथा सर्वसाधारणहरुले के के भने त प्रस्तुत छ केहि प्रतिनिधीका धारणा । 

पदमपाणी शर्मा नेता नेकपा प्रमुख फलेवास नगरपालिका 

प्रधानमन्त्रीले जुन कदम चालेका छन् यो अक्षम्य गलत कदम हो । उनी एकल रुपमा अगाडी बढ्न चाहान्छन् । देश र जनता प्रतिको विश्वास गुमाउने काम भयो । यो राम्रो काम हुँदै होईन । 

रामचन्द्र जोशी नेता नेपाली काँग्रेस प्रमुख कुश्मा नगरपालिका 

प्रधानमन्त्री ज्यु को कदम सर्वथा असंवैधानिक र सत्ता स्वार्थ बाट मात्र केन्द्रित देखिन्छ । सिंगो व्यवस्था माथी प्रहार गरेर ओली सरकार इतिहासकै असफल प्रमाणित भएको छ । 

लोकतन्त्रको न्युनतम मुल्य, आदर्श र मर्म माथी निर्मम प्रहार गरेका प्रधानमन्त्रीको अब संसद भित्र छिर्ने नैतिक हैसियत  गुमेको छ भने झण्डै दुई तिहाई बहुमत सहितको सरकारको बैधता समाप्त भएको छ ।

शंकर गिरी नेता नेकपा 

गणतन्त्र, संबैधानिक व्यवस्था, कानुनी राज्य, राज्य सञ्चालकमा हुनुपर्ने अनुसासन विपरितको कदम हो । संसद विघटन गर्नु भनेको संविधान विपरित गतिविधि हो । आफु सत्तामा रहिरहने र सत्तामा कोहि आउन खोजे रोक्ने गरि प्रम अगाडी बढेका हुन् । उनी लोकतन्त्र मास्न उद्धत छन् । यो प्रवृतिले मुलुकलाई फाईदा गर्दैन । 

सीता काफ्ले लामिछाने नेता नेका उपप्रमुख कुश्मा नगरपालिका 

यो भन्दा बदमासी नेपाली जनतामाथी अरु केहि हुन सक्दैन । प्रधानमन्त्री शक्ति आफ्नो हातमा लिन के के गर्न सकिन्छ भन्ने कुरामा मात्रै बढि चिन्तित रहेछन् भन्ने बुझियो । जनताले जुन विश्वासले दुई तिहाई मत दिएका थिए आज ति जनताको भावनामा ठूलो ठेस पु¥याउने काम भएको छ । 

विमल लामिछाने नेता नेकपा वडाध्यक्ष मोदी ६ तिलाहार 

झ्यालढोका थुनेर आक्रमण गरेपछि चिथोर्नुको विकल्प हुँदैन । राष्ट्रपतिविरुद्ध महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वास, पार्टी फुटाउन हस्ताक्षर सबै हर्कत गरेर सिध्याउन खोजेपछि प्रधानमन्त्रीसँग भएको संवैधानिक विकल्प प्रयोग हो ।

यामबहादुर मल्ल नेता नेका प्रमुख जलजला गाउँपालिका 

देशमा स्थिर सरकार होस, जनतालाई शान्ति र समृद्धि होस भनेर नेकपालाई जनताले दिएको दुईतिहाइ जनमत आज अभिशाप भएको छ । व्यक्तिगत स्वार्थ र सनकको भरमा देशलाई अँध्यारोतिर धकेल्ने ओलि अतिवाद र नेकपाको अकर्मण्यतालाई जनताले राम्रैसँग चिन्न पाएका छन् ।  र योवेला जस्तोसुकै मूल्य चुकाएर पनि लोकतान्त्रिक मूल्य र नागरिक सर्वोच्चताको पक्षमा उभिरहने नेपाली काँग्रेसको आवस्यकता देशमा खड्किएको छ । परिस्थितिले निम्ताएको चुनौतिको सामना गर्दै मुलुकको प्रगतिका लागि हाम्रो लक्ष्य, संकल्प र अठोट अझै दृढ भएर अघि बढ्नेछ । धैर्य गरौं र हाम्रो आन्तरिक एकतालाई मजवुत बनाएर हरेक अतिवादको विरूद्धमा लड्ने प्रतिबद्धता गरौं ।

भवानीप्रसाद शर्मा व्यवसायी 

 गणतन्त्र ल्याएकै लुट्नकै लागि हो । आफू सत्तामा रहने अवस्था नआए संसद नै विघठनको सिफारिस । लुटेरालाई समर्थन गर्ने जनताको जमात भईन्जेल यो रोग निको हुँदैन । 

जगदिश शर्मा फलेवास 

मध्यावधि चुनाव भएमा केही (सबै हैन) दिक्क लाग्ने अनुहारहरु हार्नेछन । कुनै मिहिनेत नगरी (गफै नलगाई) नेपाली कांग्रेस ठूलो पार्टीको रुपमा फेरि आउनेछ ।

धुर्व तिवारी फलेवास 

गलत नेतृत्वलाई चुनेको अभाष आम नेपाली जनतालाई भइरहेको छ । देश पुन १० बर्ष पछाडि धकेलिएको छ । यति मात्र हैन लोकतन्त्र नै धरापमा पर्ने भो भन्ने चिन्ताले पिरलिरहेको छ यतिबेला ।भनिन्छ नि बादरले न आफ्नो घर बनाउँछ न अरुको घर बनाउन दिन्छ भनेर आज सत्य साबित भएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)