Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1313




बञ्जिका हिरो राजु कार्कीको अनुभव
बञ्जिका हिरो राजु कार्कीको अनुभव
तस्विर : दिनेश तिवारी

पर्वत / बञ्‍जी जम्प गर्दा मानिसलाई जति आनन्द आउँछ, त्यो भन्दा पहिले उसमा अथाह साहस पनि चाहिन्छ। अरूले बञ्‍जी हानेको देख्दा नै डराउने धेरै हुन्छन्।

३ हजार पटकभन्दा धेरैपटक बञ्‍जी जम्प गरेका राजु कार्कीको साहसले पर्वतका धेरै नागरिकलाई बञ्‍जीप्रति हौस्याएको छ। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका ३६ वर्षीय कार्कीले नेपालमा सञ्‍चालित सबै बञ्‍जीमा मात्र होइन, स्वीट्जरल्याण्ड र फ्रान्स लगायतका देशसम्म पुगेर बञ्‍जी जम्प र स्वीङ गरेका छन्।

पर्वतको कालीगण्डकी नदीमा बञ्‍जीको सम्भावना देखेपछि उनकै नेतृत्वमा पर्वतका युवा व्यवसायीहरूले करिब २० करोड रुपैयाँ लगानी गरी बञ्‍जी जम्पसहित रिसोर्ट पनि निर्माण भएको छ। पर्वतमा बञ्‍जी जम्प बनेपछि साहसिक खेलाडीले विभिन्न तरिकाबाट हाम फालेर देखाएका छन्। जसले पर्वतमा बञ्‍जी जम्प गर्न आउनेहरूलाई निकै हौस्याएको छ।

स्वदेश र विदेशमा गरेर ३ हजारभन्दा धेरै पटक बञ्‍जी जम्प गरेका राजु कार्कीसँग संजय रेग्मीले कुराकानी गरेका छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

जहाँ पनि सजिलै बञ्‍जी हान्ने बानी रहेछ, यसमा डर बढी कि आनन्द ?

बञ्‍जी जम्प र स्वीङ गर्नको लागि मेरो मनमा कुनै पनि डर नै छैन। शुरू-शुरूमा डर नलागेको त कहाँ हो र? आजकाल मेरा लागी बञ्‍जी खानु, बस्नु र सुत्नुजस्तै सामान्य बनेको छ ​।

​मेरो यसमा मेरो बानी परिसकेको छ। आलस्य भयो भने एकपटक हाम फालेपछि आनन्द आउँछ। मुड नै रिफ्रेस गराइदिन्छ।
तर, हाम फाल्नुपूर्व अहिले पनि एकपटक साहस बटुलेर जानुपर्छ। आफैंले आफैलाई ‘ल अब बञ्‍जी हान्ने हो?’ भनेर सम्झाएर जम्प गर्ने हो।

हाम फाल्दा कस्तो अनुभव हुन्छ?

त्यो आनन्दलाई त यहाँ शब्दमा म कसरी बताउन सकुँला र? कति रमाइलो र आनन्दको महसुस हुन्छ भन्ने कुरा बञ्‍जी गरेकाहरूलाई थाहा हुन्छ । जतिपटक हाम फाल्दै गयो-उति नै आनन्द लाग्दो बन्दै जान्छ यो खेल।

हामीले दैनिक रूपमा भोग्दै आएका समस्याबाट ह्वात्तै बाहिर निकाल्छ। हाम फाल्नासाथ छुट्टै संसारमा पुगेको, कता हो कता उडिरहेको अनुभव हुन्छ। शरीरले त्यो खालको आनन्दको सेन्सेसन लिइरहेको हुन्छ। त्यो बेला वातावरणसँग शरीरले गर्ने प्रतिक्रिया दिमागलाई नै थाहा हुँदैन। दिमाग रित्तो भएजस्तो अनुभव हुनाले सबै पीर र पीडा बिर्सेर ताजा बनिन्छ।

बञ्‍जी गर्ने मन सधैँ आउँदैन। तर, जुन बेला यो अनुभव लिन मन लाग्छ नि! त्यो बेला जीवनको नौलो अनुभव लिन चुक्नुहुँदैन।

पहिलोपटक बञ्‍जीको कहाँ अनुभव लिनुभयो ?

मैले पहिलो पटक भोटेकोसीमा रहेको बञ्‍जीबाट हाम फालेको थिएँ, जुन नेपालमा भर्खर भर्खर शुरू भएको थियो। त्यहाँ मेरो मामा पनि कार्यरत हुनुहुन्थ्यो।

हाम फाल्नासाथ छुट्टै संसारमा पुगेको, कता हो कता उडिरहेको अनुभव हुन्छ। शरीरले त्यो खालको आनन्दको सेन्सेसन लिइरहेको हुन्छ। त्यो बेला वातावरणसँग शरीरले गर्ने प्रतिक्रिया दिमागलाई नै थाहा हुँदैन। दिमाग रित्तो भएजस्तो अनुभव हुनाले सबै पीर र पीडा बिर्सेर ताजा बनिन्छ।
मामालाई मैले हाम फाल्छु भनेपछि उहाँले ‘हुन्छ’ भन्नुभयो। त्यो बेलामा १ सय ६० मिटरको उचाइबाट हाम फाल्नुपर्थ्यो। त्यो मेरा लागि अविस्मरणीय थियो। पहिलोपटक हाम फाल्न लाग्दाको जोश नै बेग्लै थियो। बबाल हाम फाल्छु भन्ने सपना मनमा लिएर गएको थिएँ।

अरू देशमा र नेपालमा बञ्‍जीको अनुभव के रह्यो?

मैले नेपालका सबै बञ्‍जीमा जम्प गरेको छु। स्वीट्जरल्याण्ड र फ्रान्सका बञ्‍जीमा पनि जम्प गरेँ। जम्पिङपछि हुने फलिङको अनुभव त जहाँको पनि एउटै हो।

सिस्टम सबैको एउटै हुन्छ। यो न्यूजिल्याण्डमा शुरू भएर अन्य देशमा फैलिएको हो। तर नयाँ ठाउँमा जाँदा त्यहाँको दृश्यले फरक अनुभूति हुने हो। ठ्याक्कै फरकको अनुभव हुने भनेको बञ्‍जी र स्वीङको गहिराइले हो। हरेक ठाउँमा जाँदा पहिलो पटकको बञ्‍जी भावनात्मक (इम्प्रेसिभ) हुन्छ।

तपाईं त उत्तानो परेर पनि सहजै जम्प गर्नुहुन्छ, अरू व्यक्तिले हेर्दा पनि सिरिङ्‌ग हुने यस्तो जम्प गर्दा डर लाग्दैन?

हो, म फरक फरक पोस्टरमा रहेर जम्प गर्ने अभ्यास गरिरहेको छु। एउटै तरिकाले मात्रै कति गर्ने? जम्पलाई इन्ट्रेस्टीङ बनाउन पनि त्यसो गरेको हुँ। फरक पोस्चरबाट भएको फलिङको अनुभव पनि फरक खालको नै हुन्छ। यो बाहेक डोरी समातेर पनि जम्प गरेको छु।

नेपालमा बञ्‍जीमा पर्यटकहरूलाई आकर्षण गर्न कत्तिको सजिलो छ?

प्राकृतिक रूपले सिँगारिएको हाम्रो देशमा बञ्‍जी रहेको ठाउँमा रहेका दृश्यहरूले धेरै पर्यटकहरूलाई तान्न सक्छ। अन्य देशका बञ्‍जीहरू भन्दा नेपालका बञ्‍जीको मज्जा बढी रहेको मलाई लाग्छ। हामीले नै सञ्चालन गरिरहेको ‘द क्लिप’ मै हेर्ने हो भने पनि पर्यटकहरूको आगमन निकै राम्रो छ।

अहिले कोभिडका कारण बाह्य पर्यटकहरू नआएपनि आन्तरिक पर्यटकहरूको चार्म निकै बढेको छ। कुस्माकै बञ्‍जीमा पनि देशका धेरै ठाउँका जम्परहरू आउनुभएको छ।
यसले बञ्‍जीको क्रेजलाई पुष्टि गर्छ। जम्परहरूले हेर्ने भनेको उचाइलाई हो। भोटेकोसीमा, पोखरामा वा अन्य ठाउँमा हाम फालिसकेकाहरूलाई थप उचाइबाट हाम फाल्न मन लाग्छ। यसको विकल्प भनेको पर्वतको बञ्‍जी हो। नेपालमा बञ्‍जी जम्पबाट पर्यटक तान्न सकिने सम्भावना धेरै छन्।

तर, यसलाई अलि फरक फरक विशेषता भएका बनाउनुपर्छ। किनकि बञ्‍जी त विदेशमा पनि छन्। विश्वका धेरै बञ्‍जी टावर निर्माण गरेर बनाइएका छन्। तर नेपालमा नदीले बनाएका खोँचमा धेरै सम्भावना छन्।

बञ्‍जी जम्प गर्दा के-के कुरामा ध्यान दिनुपर्ने रहेछ ?

सबैभन्दा पहिले त जम्परले आफ्नो स्वास्थ्यमा अवस्थामा ध्यान दिनुपर्छ। अवस्था सामान्य छ भने यसले कुनै पनि साइड इफेक्ट गर्दैन।

जम्पर स्पोर्टिक ड्रेसमा भएमा सजिलो हुन्छ। त्यसले शरीरलाई खुल्ला बनाउँछ। आवश्यक सेक्युरिटी र रेस्क्यूका कुरा त बञ्‍जी जम्पमा तयारी अवस्थामा नै राखिएको हुन्छ।

यसका लागि विशेष ज्ञान चाहिने वा व्यापक तयारी गर्ने भन्ने हुँदैन। जम्परहरूलाई जम्प अगाडि नै प्रशिक्षित गरिएको हुन्छ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)