Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

3 years ago

1162




पर्वतमा मगर महोत्सव शुरु
पर्वतमा मगर महोत्सव शुरु

फागुन १५ पर्वत । पुन यूवा क्लवको आयोजनामा कुश्मामा दोस्रो राष्ट्रिय मगर महोत्सव शुरु भएको छ । बडागाउँ स्थित खेलमैदानमा शनिवार महोत्सव शुरु भएको हो । शनिवार शुरु भएको महोत्सव फागुन २५ गते सम्म सञ्चालन हुने भएको छ । ३९ औँ मगर दिवशको अवसर पारेर आयोजित महोत्सवको साँसद पदम गिरीले उद्घाटन गर्नुभयो । गिरीले मगर समूदाय संस्कृतिका धनी रहेको भन्दै मगरहरुको राष्ट्र निर्माणको अभियानमा पनि ठूलो योगदान रहेको चर्चा गर्नुभयो । 

साँसद गिरीले मगर समूदायको एकतालाई बलियो बनाउन अनुरोध गर्नुभयो । हाम्रा संस्कृति र संस्कारहरु बिस्तारै हराउँदै गएको भन्दै गिरीले संस्कार र संस्कृतिको संरक्षणमा मगर समूदायले पहल गर्दै आएको बताउनुभयो । उहाँले जिल्लाको विकास द्रुत गतिमा अगाडी बढेको पनि दाबी गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल,जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल( रामकृष्ण ), कुश्मा नगरपालिकाका प्रमुख सीता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी , कुश्मा ५ का अध्यक्ष चित्रकला शर्मा भारती, नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, उधोग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष डममाया गर्वुजा मगरले लगायतले बोल्नुभएको थियो । 

स्वागत पुन यूवा क्लवका पूर्व अध्यक्ष जीवन पुनले गर्नुभएको थियो । कार्यक्रम पुन यूवा क्लवका अध्यक्ष कृष्ण पुनको सभापतित्वमा सम्पन्न भएको थियो । मगर महोत्सव उद्घाटन अघि बाजागाजा, झाँकी, भजनकिर्तन, तुल व्यानर सहित बजार परिक्रमा गरिएको थियो । ¥यालीमा पर्वतका विभिन्न संघसंस्थाका प्रतिनिधी मौलिक शैली र पोशाक झल्किने गरि सहभागि भएका थिए भने बागलुङ र म्याग्दीबाट पनि मगर समूदाय सहभागी भएका थिए । 

पर्वतको कुश्मा बजार स्थित बडागाउँ खेलमैदान सञ्चालन गरिएको महोत्सवमा खेलकुदका कार्यक्रम, स्टलहरुका स्थानीय उत्पादन, दैनिक घरायसी सामाग्रीको विक्री वितरण, लघु तथा घरेलु उद्यमका उत्पादनको विक्री, स्थानीय खानाका परिकारका स्टल समेत रहेका छन् । सांस्कृति कार्यक्रम अन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, मगर समूदायको शालैजो, यानिमाया, सुनिमाया, सोरठी गायन र नृत्य समेत रहने भएको छ । रमाईलो मेला, बालउधान पनि महोत्सवका आकर्षण रहेको पुन यूवा क्लवले जनाएको छ ।

कोरोना संक्रमण पछिको पहिलो महोत्सव पर्वतमा सञ्चालन गरिएको हो । यो महोत्सवले पर्वतको व्यावसाय प्रबर्दन, पर्यटकीय क्षेत्रको प्रचार, स्थानीय उत्पादनको बजारीकरण, संस्कृतिको संरक्षण लगायतका क्षेत्रको उत्थान हुने आयोजकको दाबी छ । २०६५ सालमा दर्ता भई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पुन क्लवले हरेक वर्ष महोत्सव गर्दै आएको छ । तिहारमा देउसीभैलो खेलेर एम्बुलेन्स खरिद गरेको यो क्लवले मगर समूदायको संग्राहलय निर्माणको अभियान समेत सञ्चालन गरेको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)