Correspondent, ParbatNepal
5 years ago
1400
फागुन २३ पर्वत । पर्वतको मोदी गाउँपालिका ६ डिमुवाबजारमा खानेपानीको समस्या समाधान हुने भएको छ । डिमुवा खानेपानी तथा सरसफाई आयोजनाको पहलमा नेपाल विद्युत प्राधिकरण मोदीखोला जलविद्युत आयोजनाको आर्थिक सहयोगमा डिमुवामा नयाँ खानेपानी आयोजना निर्माण हुन थालेकाले खानेपानीको समस्या समाधान हुने भएको हो ।
खानेपानी आयोजना समितिका अध्यक्ष दिपेन्द्रजंग लामिछानेका अनुसार विद्युत प्राधिकरणले ३६ लाख रुपैयाँ खानेपानी आयोजनाको लागि आर्थिक दायित्व वहन गर्नेछ । एक वर्षको निरन्तरको प्रयासपछि डिमुवाबजारमा पानी ल्याउने योजना पुरा हुन लागेको लामिछानेले जानकारी दिनुभयो । मोदी ८ चित्रेबाट पानी ल्याएर डिमुवाबजार र मोदीखोला जलविद्युत आयोजनाको आवास क्षेत्रमा वितरण हुने जनाईएको छ । यो आयोजना बाट १५ सय घरधुरी लाभान्वित हुने भएका छन् ।
पानीको मुहानमा रहेका जग्गादाताले २ आना जग्गा दिएपछि मुहानको पानी ल्याउन थप सहज भएको हो । डिमुवा खानेपानी तथा सरसफाइ आयोजना समिती र नेपाल विद्युत प्राधिकरण मोदिखोला जलविद्युत केन्द्र बीचको सहमतिमा जग्गा दाता महेश्वर पौडेलका छोरा शिव पौडेलले २ आना जग्गा निशुल्क नाम सारी गरिदिनुभएको छ ।
जग्गाको लालपुर्जा निकालेर उपभोक्ता समितिलाई जग्गाधनी पौडेल परिवारले हस्तान्तरण गरेका छन् । डिमुवा खानेपानी आयोजना समितिले जग्गादाता , मोदि गाउँपालिका, मोदी गाउँपालिका वडा नम्बर ६ र वडा नम्बर ८ लाई धन्यबाद व्यक्त गरेको छ । यस्तै सम्पुर्ण कार्य समिति ,सल्लाहकार समिती,प्राविधिक रूपमा सहयोग गर्ने एकराज पौडेल मोदि जलविद्युत केन्द्रका पुर्व कार्यालय प्रमुख पवन बस्नेत संगै वर्तमान कार्यालय प्रमुख आवास ओझालाई पनि उपभोक्ता समितिले आभार व्यक्त गरेको छ ।
