Correspondent, ParbatNepal
5 years ago
1419
- फागुन २८ पर्वत । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा आज एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको पशु स्वास्थ्य सेवा शाखाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । पशुहरुमा लाग्ने विभिन्न वाह्य तथा आन्तरिक परिजिवीको संक्रमण र अन्य रोगहरुको बारेमा उपचार र किसानलाई प्रशिक्षण दिँदै शिबिर सम्पन्न गरिएको छ ।
शिविरमा आर्थरका २ सय ३ परिवारका ३ हजार १ सय ५५ पशुपंक्षीको उपचार गरिएको छ । पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा, प्राविधिक मनोज पन्त, सुदर्शन सुबेदी, चोलाकान्त पौडेल, अनन्तराज अधिकारी लगायतले पशु तथा पंक्षीहरुको उपचार गर्नुभएको थियो भने औषधी वितरण गरिएको छ । यस्तै वहर बोकाको बध्याकरण, पशुहरुको बाँझोपन नियन्त्रण लगायतका सेवा पनि प्रदान गरिएको थियो । शिविरमा एमडिएच फर्मा स्युटिकल्स गण्डकी प्रदेश संयोजक मनोज पन्तले करिव १ लाख रुपैयाँ बराबरका औषधी सौजन्य गर्नुभएको थियो ।
कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थरडाँडाखर्कका कार्यवाहक वडाध्यक्ष ईन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा शिविर गरिएको थियो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाको स्वास्थ्य सेवा शाखाका सहसंयोजक यामप्रसाद शर्माले पशु तथा पंक्षीहरुको स्वास्थ्य राम्रो नहुँदा तिनीहरुको उत्पादन सेवन गर्ने मानवहरुको स्वास्थ्य स्थिती राम्रो नहुने बताउनुभयो ।
पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले किसानहरुलाई घरदैलोमा नै सेवा दिनका लागि शिविर आयोजना गरेको बताउनुभयो । कुश्मा नगरपालिकाको पशु सेवा शाखाले किसानहरुलाई विभिन्न अनुदान, परामर्श सेवा र घरदैलोमा परिक्षण शिविर गरेर पशुपालनमा प्रेरित गरिरहेको जानकारी दिनुभयो ।
