Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

3 years ago

1018




माछापालनमा कृषकको आकर्षण
माछापालनमा कृषकको आकर्षण



चैत्र २१ पर्वत । पर्वतको कुश्मा नगरपालिकाका यूवाहरु माछापालनमा आकर्षित भएका छन् । कुश्मा नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो ।  सरकारी निकायको अनुदान र किसानहरुको मिहेनतका कारण पछिल्लो समयमा माछापालन व्यावसाय बढ्न थालेको छ । मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् ।

     कुश्मा नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार कुश्मामा व्यावसायिक माछापालन गर्ने किसानको संख्या ४० पुगेको छ । कुश्मा नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका यूवालाई वस्तुगत सहयता दिँदै आएको छ । नगरको सहायताका कारण माछापालनमा यूवाहरुको आकर्षण बढेको पशु सेवाका प्रमुख सापकोटाले जानकारी दिनुभयो । 

सापकोटाले किसानलाई माछापोखरी निर्माण र माछाका भुरा नगरपालिकाले वितरण गरेको बताउनुभयो । ‘किसानलाई गतवर्ष पोखरी बनाउन सहयोग गरेका थियौँ,’ सापकोटाले भन्नुभयो,‘ यो वर्ष भुरा वितरण गरेका छौँ ।’ किसानहरु उत्साही भएर माछापालनमा लागेको उहाँले बताउनुभयो । 


कुश्मा नगरपालिकाले शुक्रवार २२ जना किसानलाई भुरा वितरण गरेको छ । मागका आधारमा किसानलाई २५ हजार माछाका भुरा वितरण गरिएको हो । मागका आधारमा किसानले ५ सय देखि ५ हजार भुरा प्राप्त गरेका छन् । माछाका भुरा पाएपछि व्यावसायलाई थप प्रेरणा प्राप्त भएको किसान देवी क्षेत्रीले बताउनुभयो । क्षेत्रीले ६  वर्ष देखि व्यावसायिक माछापालन गर्दै आउनुभएको छ । उहाँले आफुसंग ६ हजार माछापालन गर्ने क्षमताका पोखरी रहेको जानकारी दिनुभयो । ‘लकडाउनको बेला मैले डेढ लाखका माछा बेँचे,’ क्षेत्रीले भनिन्,‘ बजारको माग धान्नै मुस्किल छ ।’ मोदीखोला र कालीगण्डकी किनारमा माछापालन गर्ने किसान बढ्दै गएका छन् । 


कुश्मा नगरपालिकाले किसानको आकर्षण बढेपछि सहायता गर्न थालेको जनाएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले व्यावसायिक माछापालन लाई आगामी वर्ष थप बढाउने सोच रहेको बताउनुभयो । उहाँले उपयुक्ता हावापानी र राम्रो बजार रहेको हुनाले कुश्मा नगरपालिकाले माछा ब्लक नै बनाएर किसानलाई सहयोग गर्ने योजनामा रहेको सुनाउनुभयो । ‘गतवर्ष पोखरी निर्माण गर्न अनुरोध गरेपछि किसानले पोखरी बनाए,’ अहिले भुरा वितरण गरेका छौँ,‘ आगामी वर्ष क्षेत्र बढाउने र बजेट पनि थपेर सहयोग गर्ने तयारीमा छौँ ।’ 

पर्वतको अम्बोट माछाका लागि देशभरी नै चर्चित ठाउँ हो । यहाँ दर्जन भन्दा बढि माछाकै होटल सञ्चालन हुँदै आएका छन् । अम्बोटमा सबैभन्दा बढि माछा विक्री गर्दै आएको किसानहरुले जानकारी दिए । यहाँको माछा चिसो हावापानीमा हुर्किएको हुनाले खानमा स्वादिलो हुने माछाका पारखीहरुले बताउँदै आएका छन् । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)