Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1855




जोखिम मोल्दै साँघुवाट खोलो तर्दै
जोखिम मोल्दै साँघुवाट खोलो तर्दै

 

रोशन तिवारी फागुन ४ पर्वत । बषौँदेखि साँघुरो र जोखिमयुक्त साँघुवाटै स्थानीय आउजाउ गर्छन । स्कुले वालवालिका पनि यहिवाट हातखुट्टा टेकेर विद्यालय पुग्ने गरेका छन् । घाँसपात ओसार्न पनि उस्तै असहज अवस्था रहेको छ । हिउँदमा खोलो सुक्दा खोलामै पसेर तर्न सकिन्छ तर वर्खामा खोलो उर्लिँँदा भने निकै समस्या हुन्छ । यो कुनै दूर्गम गाउँको समस्या हैन । जिल्लाको कुश्मानगरपालिका र फलेवास नगरपालिकाभित्रको सुगम ठाउँ सिमखेतको समस्या हो यो । कुश्मा नगरपालिका १० को पिपलटारी र फलेवास नगरपालिका ३ शंकरपोखरीको सिमाना सिमखेत स्थित मल्याङ्दीखोलामा पुल नहुँदा वषौँदेखि स्थानीय समस्या झेल्न वाध्य छन् ।

खोलाको वारीपारी रहेका वस्तीका करिव दुई सय घर परिवारले पुल नहुँदा काठको मुढोवाट जोखिम मोलेर खोलो तर्दै आएका छन् ।  पुलको वारीका वासिन्दाको खेतीपाती पारि छ भने पारीका वासिन्दाको वारी छ । पुल नहुँदा खेतीपाती र मेलापात गर्नेहरुलाई निकै समस्या हुने गरेको स्थानीय हेमप्रसाद अधिकारीले वताए । 

‘स्कुल जाँदै गरेकी हाम्रै गाउँकी वलवहादुर विककी छोरी ३÷४ वर्षअगाडी खसेर वितिन,’अधिकारीले भने,‘ वच्चाहरुलाई एक्लै पठाउँदा पुलवाट खस्ने हुन कि भन्ने जौत्रास हुन्छ ।’ उनले भने–‘ न समाउने डाली न टेक्ने हाँगो भने जस्तै यो साँघुवाट ज्यान हत्केलामा राखेर हिँडिरहेका छौँ ।’   

७० वर्षिय गुमादेवी अधिकारीले आफु जान्ने भएदेखि यसरी नै जोखिम मोलेर खोलो तर्ने गरेको बताईन । ‘पारीको खेत छ वारीवाट मेलापात जान समस्या हुने गर्छ,’ उनले भनिन् । उनले आफ्ना हलगोरु खोलाले वगाएको पनि सम्झिईन । यहाँ राखिएको मुढा वर्षेनी खोलामा आउने वाढिले वगाउने गरेको छ । ‘वर्खामा वर्षेनी मुढा खोलाले वगाउँदा समस्या हुने गर्छ,’ प्रेमवहादुर कार्कीले भने,‘ फेरि यत्रो काठ जहाँसुकै वनमा पाईँदैन ।’

यहाँ पुल नहुँदा गाउँले त्रहीत्रही भैरहँदा झण्डै एक सय मिटर तल मल्याङ्दीखोलामा रहेको झोलुङ्गेपुल वेकामे वनेको छ । उक्त पुल उप्काएर समस्या रहेको सिमखेतमा सार्न स्थानीयले माग गरेका छन् । झोलुङ्गेपुल नजिकै पक्कि पुल वनेको छ । एकै ठाउँमा झोलुङ्गेपुल र पक्कि पुल छन् । ‘एउटै खोलाको एकैठाउँमा झोलुङ्गेपुल र पक्कि पुल वनाईएपनि नजिकै रहेको गाउँमा मुढावाट जोखिम मोलेर खोलो तर्न वाध्य हुनु विडम्वना हो,’ स्थानीय यूवा शिव अधिकारीले भने,‘ हाम्रा गाउँमा नेता धेरै भए तर यो गाउँ हेर्ने कोहि भएनन् ।’

पक्कि पुल वनाउने वेला भएको सार्वजनिक सुनुवाईमा पनि जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले पक्कि पुल वनेपछि झोलुङ्गेपुल सिमखेतमा सार्ने आश्वसन दिएका थिए । तर माग सम्बोधन अहिलेसम्म भएको छैन । माग सम्बोधन नभएपछि पटक पटक झोलुङ्गेपुल स्थानान्तरण गरिदिन जिविसमा गाउँले माग लिएर आउने गरेका छन् । तर अहिलेसम्म पुल सार्ने गतिलो आश्वसन कतैवाट नआउँदा गाउँले निराश भएका छन् ।     


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)