Correspondent, ParbatNepal
8 years ago
2003
रोशन तिवारी फागुन १२ पर्वत । पर्वतमा फागुन १२, १३ र १४ गते राष्टिय अभियान अन्तर्गत हात्तिपाईले विरुद्धको औषधी ख्वाईने भएको छ । अन्तिम पटक १२, १३ र १४ गते औषधी ख्वाएर हात्तिपाईलेको औषधी ख्वाउने अभियान रोकिने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय मार्फत जिल्लामा २०६९ सालदेखि हात्तिपाईले औषधी ख्वाउने अभियान थालिएको हो ।
५ वर्षसम्म लगातार औषधी ख्वाईएको र अव अन्तिम पटक गर्दा ६ वर्षसम्म लगातार औषधी ख्वाउने मात्रा पुरा हुने भएको अभियान रोक्न लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. वुद्धिवहादुर थापाले जानकारी दिए । लगातार ६ वर्षसम्म औषधी खाएमा हात्तिपाईले रोग नलाग्ने र रोग लागेका पनि निको हुने विभिन्न अन्तराष्ट्रिय अनुभव तथा विश्व स्वास्थ्य संगठनले समेत यहि मान्यता राख्ने भएकाले अभियान रोक्न लागिएको डा. थापाले बताए ।
तर औषधी खाए पनि संक्रमित लामखुट्टेले टोकेमा रोग सर्ने संभवना भने रहने थापाले वताए । जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकामा औषधी ख्वाउँदैछ । औषधी ख्वाउन १ हजार ५० जना सवयंसेवक, ६२ जना स्वास्थ्यकर्मी, २५ जना सुपरभाईजर परिचालन हुनेछन् । यसपालीको अभियानमा ६० लाख ९ हजार रुपैयाँ खर्च लाग्ने स्वास्थ्य कार्यालयले जनायो ।
औषधी ख्वाउने अभियान रोकिएपनि हात्तिपाईले रोकथामका अन्य विकल्पहरु नरोकिने फोकल पर्सन दिपक भण्डारीले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग विश्वका ८३ मुलुकमा पाइएको छ । हाल १२ करोड मानिसहरु यो रोगवाट संक्रमित रहेका छन् । यसमध्ये करिव २ करोडमा हात्तिपाईले र २ करोडलाई अण्डकोष र यौनाङग सुन्निएको पाइएको छ । वाँकि करिव ७ करोड मानिसहरुमा साधारण लक्षणहरु देखिएका छन् । नेपालका ७७ जिल्ला मध्ये ६१ जिल्लामा यो रोगको असर देखिएकाले औषधी ख्वाउने अभियान चलिरहेको छ । यसवर्ष २१ जिल्लामा अभियान पुरा हुने जनाइएको छ ।
